हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले भोटै हालेनन्
What you should know
काठमाडौँ — रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट ४० र महाधिवेशनस्थलमा भएको विद्युतीय मतदानमा २ हजार ९ सय ५९ मत खसेको छ । रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले प्रवासमा १७० प्रतिनिधि भए पनि २ बजेसम्म ४० भोट अनलाइनमार्फत खसेको जानकारी दिए ।
यसअघि आयोगले महाधिवेशनका लागि ४ हजार ३ सय ११ प्रतिनिधि चयन भएको जानकारी दिएको थियो । यद्यपि अहिले भने उपप्रमुख गुरुङले कुल मतदाता संख्या यकिन भइरहेको बताए । यस हिसाबले हेर्ने हो भन्दै झन्डै १३ सय प्रतिनिधि मतदानमा सहभागी नै भएनन् ।
उपप्रमुख गुरुङले केन्द्रीय सदस्यका लागि भएको मतदानको परिणाम ३ घण्टाभित्र सार्वजनिक गरिने जानकारी दिए । त्यसपछि पदाधिकारीका लागि मतदान हुने पनि उनले बताए ।
९९ केन्द्रीय सदस्यका लागि ३ सय ७९ उम्मेदवार छन् । सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसकेका छन् । वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह निश्चित छन् ।
तीन उपसभापतिमध्ये खुला उपसभापतिमा अर्थमन्त्रीसमेत रहेका नेता स्वर्णिम वाग्लेले उम्मेद्वारी दिएका छन् । महिला उपसभापतिमा नेता सोविता गौतम, लिमा अधिकारी र डा. तोसिमा कार्कीको नाम चर्चामा छ । यी तीनै नेता केन्द्रीय सदस्यका उम्मेदवार छन् । कार्कीले भने महिला उपसभापति नभए महामन्त्रीमा पनि उम्मेदवारी दिने चर्चा छ । महिला उपसभापतिमा प्रतिभा रावलले उम्मेदवारी दिने सम्भावना रहेकामा उनले केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएकी छैनन् । रावल मनोनीत सहमहामन्त्री वा अन्य पदाधिकारी पदमा बस्ने सम्भावना छ ।
निवर्तमान उपसभापति वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् भने परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ उम्मेदवारी दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ उम्मेदवारी दिँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले खुला महिलातर्फबाट उम्मेदवारी दिएकी हुन् ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले कर्णालीबाट उम्मेदवारी दिँदा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशीबाट उम्मेदवारी दिएकी छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट उम्मेदवारी दिएका छन् ।
रास्वपा विधानमा ५१ सदस्यलाई केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने अधिकार दिएको छ । सोही प्रक्रियाबाट केन्द्रीय सदस्य हुँदै पदाधिकारी बन्ने लाइनमा रहेका नेताहरूले उम्मेदवारी दिएका छैनन् । नेताहरूलाई समायोजन गर्न सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्य र पदाधिकारी संख्या बढाइएको हो ।
