रास्वपा केन्द्रीय सदस्य पदको निर्वाचनमा ७६.६७ प्रतिशत मत खस्यो

महाधिवेशनमा ३ हजार ८५९ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मतदान गरेका हुन् ।

असार ११, २०८३

जयसिंह महरा

76.67 percent vote in election for RSVP central member

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरण भएको केन्द्रीय समिति पदका लागि ७६.६७ प्रतिशत मत खसेको छ ।

कुल प्रतिनिधि ३ हजार ८५९ रहेकामा पहिलो चरणमा २ हजार ९५९ मत खसेको महाधिवेशन मिडिया काेअर्डिनेटर पार्टीका निवर्तमान प्रवक्ता मनीष झाले बताए ।

९९ केन्द्रीय सदस्यका लागि ३ सय ७९ उम्मेदवार छन् । प्रवासबाट ४० र महाधिवेशनस्थलमा भएको विद्युतीय मतदानमा २ हजार ९ सय ५९ मत खसेको थियो । 

यसअघि आयोगले महाधिवेशनका लागि ४ हजार ३ सय ११ प्रतिनिधि चयन भएको जानकारी दिएको थियो । यस हिसाबले हेर्दा १३ सय ५२ प्रतिनिधि मतदानमा सहभागी नै भएनन् । 

केन्द्रीय सदस्यका लागि भएको मतदानको परिणाम ३ घण्टाभित्र सार्वजनिक गरिने रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए ।

सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसकेका छन् । वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह निश्चित छन् । 

रास्वपा विधानमा ५१ सदस्यलाई केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने अधिकार दिएको छ । सोही प्रक्रियाबाट केन्द्रीय सदस्य हुँदै पदाधिकारी बन्ने लाइनमा रहेका नेताहरूले उम्मेदवारी दिएका छैनन् । नेताहरूलाई समायोजन गर्न सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्य र पदाधिकारी संख्या बढाइएको हो । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully