करिब २ घन्टादेखि प्रतिनिधीहरु मतदानका लागि लाइनमा छन् । तर उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छैन।
चितवन — भरतपुरमा जारी रास्वपा महाधिवेशनमा मध्यरात भइसक्दा पनि मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।
कतिसम्म भने, करिब २ घन्टादेखि प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसे पनि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छैन। ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दिएको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। उक्त सूची सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध परेका दाबी–विरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि १० भन्दा बढी उम्मेदवारको संख्या घटेको रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।
राति ११ बजेसम्मको अपडेटअनुसार अन्तिम नामावली सार्वजनिक गर्नेबारे छलफल भइरहेको बताएका थिए।
पहिलो चरणमा रास्वपाको सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुने रास्वपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन्। ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जनाको उम्मेदवारी परेको प्रारम्भिक जानकारी दिइएको थियो। तीमध्ये कति जनाले उम्मेदवारी फिर्ता लिए र कति जनाको उम्मेदवारी अस्वीकृत भयो भन्ने जानकारी सार्वजनिक गरिएको छैन।
