रास्वपा केन्द्रीय सदस्यको मतदान सुरु हुन कति समय लाग्छ ?

उम्मेदवारको अन्तिम नामावलीको टुंगो लागेको छैन । उम्मेदवारको टुंगो लागेको कम्तिमा ८ घण्टापछि मात्रै मतदानको व्यवस्था हुने । 

असार १०, २०८३

जयसिंह महरा

How long does it take for the voting for the central member of the Rashtriya Swayamsevak Sangh (RSS) to begin?

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन लम्बिने भएको छ । महाधिवेशनका लागि तय गरिएको असार ७-९ गतेसम्मको समय सकिएको एक दिन भइसक्दा पनि पहिलो चरणको निर्वाचनका उम्मेदवारकै अन्तिम नामावली सार्वजनिक हुन सकेको छैन ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बुधबार बिहान १० बज्दासम्म पनि केन्द्रीय सदस्यका लागि कति जनाको उम्मेदवारी पर्‍यो भन्ने प्रारम्भिक सूची सार्वजनिक गरेको छैन । आयोगका उपप्रमुख राम गुरुङका अनुसार बिहान साढे १० बजेसम्म उम्मेदवारीबारे सूचना जारी गर्ने तयारी रहेको छ । 

'केन्द्रीय सदस्यको निर्वाचन हुने ९९ पदका उम्मेदवारको सम्बन्धमा साढे १० बजेसम्म सूचना जारी गर्ने तयारी रहेको छ,' गुरुङले भने, 'उम्मेदवारका मनोनयन फाराम ट्याली (रुजु) गर्ने क्रम चलिरहेकव छ । कोही पनि नछुटोस् भनेर गम्भीरतापूर्वक काम भइरहेको छ ।' फाराम ट्याली (रुजु) गर्ने काम सम्पन्न भएपछि अन्तिम नामावली सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

रास्वपाले यो महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) को प्रयोग गर्ने भएको छ । त्यसका लागि राम-लक्ष्मण भोटिङ मेसिनसँग सम्झौता गरिएको छ । राम-लक्ष्मण भोटिङ मेसिनका निर्माता लक्ष्मण रिमालसहितको टोली चितवनमा रहेको छ । 

लक्ष्मण रिमालका अनुसार बुधबार बिहान १० बजेको समयसम्म उम्मेदवारको अन्तिम सूची प्राप्त भइसकेको छैन । मतदान स्थलमा भोटिङ मेसिन राख्ने काम भने सम्पन्न भइसकेको रिमालले जानकारी दिए । उनले कान्तिपुरसँग कुरा गर्दै उम्मेदवारको अन्तिम नाम प्राप्त भएपछि छिटोभन्दा छिटो मतदानका लागि तयारी गर्नका लागि तयारी अवस्थामा मेसिनलाई राखिएको बताए ।

'उम्मेदवारको अन्तिम नामावली प्राप्त भएपछि ८-१० घण्टा लाग्छ नामहरू मेसिनमा इन्स्टल गर्न । अन्तिम नामावली नआएसम्म केही पनि भन्न सक्दैनौं,' लक्ष्मण रिमालले भने, 'अन्तिम नामावली आएपछि ८ देखि १० घण्टा लाग्छ । उहाँहरूसँग हाम्रो सम्झौता भने अन्तिम नामावली प्राप्त भएको १५ घण्टाभित्र मतदानका लागि तयार पार्ने भन्ने छ ।' भोटिङ मेसिन कम्पनीले जनशक्ति नै थप गरेर मतदानको काम छिटो सम्पन्न गर्ने तयारी भइरहेको रिमालले बताए ।  

रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट तय हुने विधानको व्यवस्था छ । बाँकी ५१ सदस्य सभापतिले मनोनित गर्नेछन् । ७ प्रदेश सभाका सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउने विधानको व्यवस्था छ । 

यसपालि विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि पदाधिकारी संख्या १२ थियो । यस पटक रास्वापमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (१ महिला) हुने व्यवस्था राखिएको छ । 

रास्वपाको केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचनमा विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्ने प्रावधान राखिएको छ । आयोगका प्रमुख भुवन केसीले विदेशमा रहेका महाधिवेशन प्रतिनिधिले रास्वपाको मोबाइल एपबाट केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचनमा भोट हाल्न पाउने व्यवस्था गरिएको बताए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully