रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मतदान १०:३० देखि सुरु हुने

प्रतिनिधि मतदानका लागि लाइन लाग्न थाले

असार १०, २०८३

जयसिंह महरा

RSVP general convention: Voting for central members to begin at 10:30

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बुधबार राति १० बजे एक सूचना जारी गर्दै केन्द्रीय सदस्यका लागि मतदान राति साढे १० बजेबाट सुरु हुने जानकारी दिएका छन् ।

मतदानको अवधि बिहीबार बिहान १० बजेसम्म जारी रहने समय निर्धारण गरिएको छ । 'निर्वाचन आयोगले तोकिएको समयमा व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गर्नेछ । सम्बन्धित सबै प्रतिनिधिहरूलाई तोकिएको समयभित्र आफ्नो मतदान अधिकार प्रयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं,' निर्वाचन आयोग प्रमुख केसीले जारी गरेको सूचनामा लेखिएको छ, 'मतदानस्थल, डिजिटल मतपत्र र निर्वाचन प्रक्रियाका अन्य व्यवस्थाबारे प्रतिनिधिहरूलाई छुट्टै जानकारी गराइनेछ । निर्वाचनलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा छ ।'

मतदान सुरु हुने भनेर बन्दसत्र स्थलमा माइकिङ गरिएको छ । माइकिङ गरिएसँगै प्रतिनिधिहरू मतदानका लागि लाइन लाग्न थालेका छन् । पहिलो चरणमा रास्वपाको सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुने रास्वपाको विधानमा व्यवस्था छ । सभापतिमा रवि लामिछानेको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जनाको उम्मेदवारी परेको प्रारम्भिक जानकारी दिइएको थियो । तीमध्ये कति जनाले उम्मेदवारी फिर्ता लिए र कति जनाको उम्मेदवारी अस्वीकृत भयो भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully