हामी मिल्यौं र इतिहास रच्यौं : रास्वपा सभापति लामिछाने

जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्रीको प्रस्ताव समेत अस्वीकार गरेर नैतिक मानक कायम गर्नुभएका बालेन शाह र उहाँसँग आबद्ध स्वतन्त्र साथीहरूसँगको समायोजनले ठूलो तरंग ल्यायो : रवि लामिछाने

असार ९, २०८३

कान्तिपुर संवाददाता

We came together and created history: RSP President Lamichhane

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले नेपालमा परिवर्तन चाहने सबै वैकल्पिक राजनीतिक शक्तिहरूके मिलनले इतिहास रचिएको बताएका छन् । परिवर्तनकारी शक्ति विभाजित रहेको स्थितिमा पुराना स्थापित शक्तिहरूले अवरोध खडा गरी चुनाव हुन नदिने षडयन्त्रमा लागेको उनले भनेका छन् ।

'हामी विभाजित रह्यौं भने पुराना स्थापित शक्तिहरूले पुनः भ्रम, फन्डा र संरचनात्मक अवरोध खडा गर्छन् र चुनाव पनि हुन दिन्नन् भन्ने मेरो निष्कर्ष थियो,' उनले भनेका छन्, 'म जेलबाट बाहिर आएपछि विभिन्न वैकल्पिक धारहरू, सुशासन, समानता र परिवर्तनका पक्षधरहरूलाई एकै ठाउँमा ल्याउने पहल अझ तेज भयो । वैकल्पिक राजनीतिक आन्दोलनसँग जोडिएका समूह सबैसँग साझा राजनीतिक भविष्यका लागि विस्तृत संवाद सुरू भयो ।'

वैकल्पिक राजनीतिक आन्दोलनका अग्रज उज्ज्वल थापाको अगुवाइमा सुरू भएको वैकल्पिक राजनीतिक आन्दोलनको विरासत रास्वपाको पुँजी बनेको उनको भनाइ छ । उज्यालो नेपाल पार्टीको एउटा समूह, नयाँ शक्तिका संस्थापक केही नेता, नागरिक उन्मुक्तिको प्रभावशाली समूह, हाम्रो पार्टी नेपाल तथा थरुहट थारुवान आन्दोलनका विभिन्न हिस्साको समायोजनले पनि रास्वपाको आकार बढाएको उनले बताएका छन् । काठमाडौंका तत्कालीन मेयर वालेन्द्र शाहसँगको समायोजनले ठूलो तरंग ल्याएको उनले उल्लेख गरेका छन् ।

'अवज्ञा र विद्रोहका प्रतीक बन्नुभएका, कुशासनसँग एक्लै लड्ने साहस देखाउनु भएका, काठमाडौं महानगरको नेतृत्वमार्फत विकासमा निर्णायक भूमिका निर्वाह गर्नुभएका, जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्रीको प्रस्ताव समेत अस्वीकार गरेर नैतिक मानक कायम गर्नुभएका बालेन शाह र उहाँसँग आबद्ध स्वतन्त्र साथीहरूसँगको समायोजनले ठूलो तरंग ल्यायो,' प्रतिवेदनमा लामिछानले लेखेका छन् । 

एकीकृत प्रयासको परिणामस्वरूप भएको निर्वाचनमा जनताले अभूतपूर्व समर्थन जनाउँदै करिब दुई तिहाइको ऐतिहासिक जनादेश प्रदान गरेको उनले भनेका छन् । ‍'विश्व राजनीतिमा पनि चार वर्षभन्दा कम समयमै कुनै राजनीतिक शक्तिले यस्तो स्तरको सफलता हासिल गरेको उदाहरण दुर्लभ छ। यो केवल चुनावी विजय होइन, यो जनताको परिवर्तनप्रतिको विश्वास, पुरानो प्रणालीप्रतिको अस्वीकार र नयाँ राजनीतिक युगको घोषणा हो,' उनले भनेका छन्, 'हामी अलग-अलग हुन्थ्यौं भने यो सम्भव हुने थिएन। अब यो जनादेशलाई केवल राजनीतिक विजयका रूपमा होइन– बरु सुशासन, पारदर्शिता र प्रणालीगत सुधारको वास्तविक शासन अभ्यासमा रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेदारी हामीसँग छ।'

कान्तिपुर

Link copied successfully