पौडेलले लामिछानेले आफ्नै राजनीतिक प्रतिवेदनमा ‘व्यापक एवं गहन छलफल हुने’ अपेक्षा व्यक्त गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताएका हुन्।
भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य रमेश पौडेलले पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि महाधिवेशनमा छलफल गर्न नपाएको भन्दै व्यंग्य गरेका छन्।
उनले प्रतिवेदन करिब सात सेकेन्डको अन्तरमा पारित भएको उल्लेख गर्दै त्यसलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता हुन योग्य रहेको टिप्पणी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत लामिछानेलाई पहिलो महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएकोमा बधाई दिँदै पौडेलले लामिछानेले आफ्नै राजनीतिक प्रतिवेदनमा ‘व्यापक एवं गहन छलफल हुने’ अपेक्षा व्यक्त गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताएका हुन्।
‘तपाईंले प्रतिवेदन वाचन सम्पन्न गर्नुभएको र हललाई प्रतिवेदन पारित गर्न आह्वान गर्नुभएको बीचमा करिब सात सेकेन्डको मात्र अन्तर रह्यो,’ उनले लेखेका छन्, ‘यो हिसाबले हेर्दा ४,२०० प्रतिनिधिले सात सेकेन्डमै गरेको ‘गहन छलफल’ स्वतः गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुन योग्य देखिन्छ।’
पौडेलले लामिछानेले प्रतिवेदनमा उल्लेख गरेको निर्णय तथा कामकारबाहीमाथि रचनात्मक सुझाव र टिप्पणी प्राप्त हुने भन्ने अर्को अपेक्षा आफूले पूरा गर्न चाहेको उल्लेख गर्दै पार्टीमा छलफलको संस्कृति विकास गर्न आग्रह गरेका छन् । ‘यस कार्यकालमा पार्टीका महत्त्वपूर्ण दस्तावेज, नीति तथा विषयहरूमाथि व्यापक, गहन र सार्थक छलफलको संस्कृति विकास गर्न सफल हुनुहोस्,’ उनले लेखेका छन् ।
