रास्वपाले कम्तीमा २० वर्ष देश हाँक्न सक्ने क्षमता देखाउनुपर्छ : महामन्त्री शाह

भरतपुरमा जारी महाधिवेशनमा मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शाहले महाधिवेशनले संगठनात्मक रूपमा पार्टी सक्षम र एकताबद्ध रहेको स्पष्ट सन्देश दिनुपर्ने बताएका हुन्।

असार ९, २०८३

गौरव पोखरेल

RSP must show ability to run the country for at least 20 years: General Secretary Shah

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीले कम्तीमा २० वर्षसम्म देशको नेतृत्व गर्न सक्ने क्षमता भएको सन्देश दिनुपर्ने बताएका छन्।

भरतपुरमा जारी महाधिवेशनमा मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शाहले महाधिवेशनले संगठनात्मक रूपमा पार्टी सक्षम र एकताबद्ध रहेको स्पष्ट सन्देश दिनुपर्ने बताएका हुन्। ‘यो महाधिवेशनले दुईवटा सन्देश दिन जरुरी छ,’ उनले भने, ‘पहिलो, रास्वपा सांगठनिक रूपमा देश हाँक्न सक्षम छ र कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता छ भन्ने सन्देश । दोस्रो, पार्टी एकताबद्ध छ भन्ने सन्देश ।’

उनले रास्वपाले यो अवसर गुमाउन नहुने उल्लेख गरे। शाहले अहिले लोकतन्त्र र संविधानका मूल्यमान्यतालाई संस्थागत गर्नु तथा सुशासनलाई व्यवहारमा उतार्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रवाह सुनिश्चित गर्नु देशका दुई प्रमुख कार्यभार रहेको बताए। यद्यपि, त्यसमा मात्र सीमित नभई हरेक नागरिकको आर्थिक उन्नतिलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

उनले नागरिकले रास्वपालाई विश्वास गरेर दिएको जनादेशअनुसार अब परिणाम देखाउने जिम्मेवारी नेतृत्वको काँधमा आएको बताए। ‘हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं, नागरिकले युवालाई मत दिए। नयाँ विकल्प चाहिन्छ भन्यौं, नयाँ शक्तिलाई विश्वास गरे। बहुमत चाहिन्छ भन्यौं, बहुमत दिए। नागरिकले आफ्नो कर्तव्य पूरा गरिसके, अब परिणाम देखाउने जिम्मेवारी नेतृत्वको काँधमा छ,’ उनले भने।

महामन्त्री शाहले युवाहरूले राजनीतिक गतिविधिमा सहभागी हुँदासमेत आफ्नो अनुहार छोप्नुपर्ने मनोविज्ञान अन्त्य हुनुपर्ने बताए। उनले अवसरको खोजीमा रहेका युवाले आन्दोलन, राजनीति, कृषि, व्यवसाय वा सरकारको समर्थन तथा आलोचना गर्दा आफ्नो परिचय लुकाउनुपर्ने अवस्था लोकतान्त्रिक समाजका लागि उपयुक्त नभएको उल्लेख गरे।

उनले पार्टीभित्र विचार र कार्यशैली फरक हुन सक्ने भए पनि लक्ष्य एउटै हुनुपर्नेमा जोड दिए। ‘विविधता लोकतन्त्रको सुन्दरता हो, तर संगठनको शक्ति एकतामा हुन्छ,’ उनले भने।

शाहले पदभन्दा माथि उद्देश्य, महत्त्वाकांक्षाभन्दा माथि आदर्श तथा व्यक्तिगत आकांक्षाभन्दा माथि पार्टी र देशको हित हुनुपर्ने बताए। महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको परिपक्वताको परीक्षा र नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अवसर भएको उनको भनाइ थियो। ‘इतिहासले हामीलाई कति ठूलो पार्टी भयौं भनेर होइन, कति जिम्मेवार भयौं भनेर सम्झिनेछ,’ उनले भने।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully