रास्वपालाई विश्वप्रकाशका ३ सुझाव : राष्ट्रियता, लोकतन्त्र र सुशासनमा प्रष्ट धारणा आओस्

विश्वप्रकाश शर्माले रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने भएकाले महाधिवेशनले नेतृत्व चयनभन्दा माथि उठेर राष्ट्रियता, लोकतन्त्र र सुशासनका आधारभूत प्रश्नमा स्पष्ट उत्तर दिनुपर्ने बताए ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

Bishwa Prakash's 3 suggestions to the Rashtriya Swayamsevak Sangh (RSS): Have a clear view on nationalism, democracy, and good governance

What you should know

काठमाडौं — कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनले नेतृत्व चयनभन्दा पनि नीति, निर्णय र नियतबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

झापामा मंगलबार आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले रास्वपाको महाधिवेशनको सफलता नेतृत्वमा को आउने भन्ने विषयमा नभई पार्टीले लिने नीतिगत दिशामा निर्भर रहने बताए । ‘को नेतृत्वमा आउनुहुन्छ भन्ने कुरा लगभग स्पष्ट छ तर महाधिवेशनको वास्तविक सफलता पार्टीले पारित गर्ने दस्तावेज, निर्णय र नियतमा निर्भर रहनेछ,’ उनले भने ।

शर्माले महाधिवेशनले विशेषगरी राष्ट्रियता, लोकतन्त्र र सुशासनसँग सम्बन्धित विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने अपेक्षा गरे ।

राष्ट्रियताको प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमा अतिक्रमणबारे दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा के हो भन्ने स्पष्ट हुनुपर्ने बताए । 'प्रधानमन्त्रीले भनेजस्तै भारतले नेपालको भूमि मिचेको हो भने कहाँ–कहाँ मिचिएको हो भन्ने कुरा पार्टीको दस्तावेजमा आउनुपर्छ। होइन भने प्रधानमन्त्रीलाई संसद्‌मा गएर अभिव्यक्ति फिर्ता लिन भन्नुपर्छ,' उनले भने ।

प्रधानमन्त्रीको धारणा र पार्टीको धारणा फरक हुन नसक्ने उल्लेख गर्दै शर्माले त्यसबारे महाधिवेशन मौन बस्ने हो भने रास्वपा स्वयंको राजनीतिक अस्तित्वमाथि प्रश्न उठ्ने टिप्पणी गरे ।

लोकतन्त्रको सवालमा उनले बर्खायाममा नागरिकलाई विकल्प नदिई घर भत्काउने कार्य, राष्ट्रपति सम्बोधनका क्रममा सांसद उठेर बाहिरिने व्यवहार, संसदलाई पर्याप्त समय नदिने सरकारी शैली तथा संवैधानिक परिषद्को निर्णय प्रक्रियासम्बन्धी अध्यादेशलाई उदाहरणका रूपमा प्रस्तुत गरे। यस्ता विषयमा रास्वपाले आफ्नो स्पष्ट दृष्टिकोण दस्तावेजमा समेट्नुपर्ने उनको भनाइ थियो ।

सुशासनको प्रश्नमा शर्माले भ्रष्टाचार मुद्दा दर्ता हुँदा सांसद पद निलम्बन हुने पुरानो व्यवस्था हटाइनु उचित थियो वा थिएन भन्ने विषयमा पनि रास्वपाले धारणा दिनुपर्ने बताए । साथै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिमा देखिएको सुन तथा अन्य सम्पत्तिको स्रोतबारे स्पष्ट पार्न पार्टीले आफ्नै नेतृत्वलाई निर्देशन दिन सक्ने वा नसक्ने प्रश्न पनि उनले उठाए ।

शर्माले रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने भएकाले महाधिवेशनले नेतृत्व चयनभन्दा माथि उठेर राष्ट्रियता, लोकतन्त्र र सुशासनका आधारभूत प्रश्नमा स्पष्ट उत्तर दिनुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully