सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया आजै सुरु हुने
What you should know
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र प्रस्ताव पेस गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्नेछन् ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सोमबार बिहान साढे ८ बजेदेखि सुरु हुने बन्दसत्रको सुरुवातमै अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
पार्टी अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति तथा छलफलका लागि पेस गर्ने कार्यक्रम रहेको छ । त्यसपछि पार्टी कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफलमा लैजानेछिन् । पार्टीको वित्तीय प्रतिवेदन पेस गर्न र छलफलका लागि बन्दसत्रमा ३० मिनेटको समय निर्धारण गरिएको छ ।
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गर्नेछन् । यस प्रतिवेदनमाथि छलफलका लागि ४५ मिनेटको समय निर्धारण गरिएको छ ।
रास्वपाले विधान संशोधनका लागि सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदन पनि आचार्यले बन्दसत्रमा प्रस्तुत गर्नेछन् । विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित हुनुपर्ने भएकाले यसमाथि छलफल र अनुमोदन प्रक्रियाका लागि १ घण्टाको समय छुट्याइएको छ ।
रास्वपाको बन्दसत्रमा पार्टीको अर्थ–राजनीतिक प्रस्तावना पनि पेस हुँदैछ । अर्थमन्त्रीसमेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्लेले उक्त प्रस्ताव बन्दसत्रमा राख्नेछन् । यस प्रस्तावनाका लागि ३० मिनेटको समय निर्धारण गरिएको छ ।
सभापति रवि लामिछानेले अन्तिममा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । उनले समसामयिक राजनीतिक अवस्थाको समीक्षा तथा विश्लेषण र पार्टीको आगामी कार्यदिशा समेटिएको प्रतिवेदन बन्दसत्रमा पेस गर्नेछन् । यसका लागि १ घण्टाको समय छुट्याइएको छ ।
त्यसपछि अन्तरिम व्यवस्थापन समिति गठन हुने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई सुम्पिने कार्यक्रम रहेको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि पहिलो चरणमा निर्वाचन हुने पदहरू—सभापति र ९९ केन्द्रीय सदस्य—का लागि उम्मेदवारी मनोनयन फाराम वितरण सुरु गर्नेछ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चल्नेछ । साँझ ६ बजे पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क सचिवालयमा उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ ।
उम्मेदवारको दाबी–विरोधका लागि साँझ ६ बजेदेखि ७ बजेसम्मको समय छुट्याइएको छ भने त्यसपछिको दुई घण्टाभित्र दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ । उम्मेदवारहरूलाई नाम फिर्ताका लागि राति ९ बजेदेखि ९:१५ बजेसम्मको समय छुट्याइएको छ । सभापति र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
रास्वपाले पहिलो चरणको मतदान मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरेको छ । त्यसको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गरिने बताइएको छ ।
दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पहिलो चरणको मतपरिणाम आएपछि प्रकाशित हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीले जानकारी दिए ।
