रास्वपा महाधिवेशन : मधेशमा नेतृत्व विवादका कारण तदर्थबाटै प्रतिनिधित्व

पर्साबाहेकमा महाधिवेशन हुन सम्भव नभएपछि पहिलेको तदर्थ समिति र पालिका अधिवेशनका आधारमा प्रतिनिधि महाधिवेशनमा आइपुगेका छन् ।

असार ८, २०८३

गौरव पोखरेल

RSVP General Convention: Ad-hoc representation due to leadership dispute in Madhesh

चितवन — चितवनको भरतपुरमा आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ । तर, पार्टीले मधेशमा पर्साबाहेक ७ जिल्लामा अधिवेशन नै गर्न सकेन ।

२१ फागुनमा भएको निर्वाचनमा समानुपातिकतर्फ ५७.३३ प्रतिशत मत पाएको प्रदेशमा अधिवेशन नै हुन नसकेपछि रास्वपाले तदर्थ समितिकै आधारमा महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

रास्वपा मधेश प्रदेशका नेता रणजित रामका अनुसार पर्साबाहेकमा महाधिवेशन हुन सम्भव नभएपछि पहिलेको तदर्थ समिति र पालिका अधिवेशनका आधारमा प्रतिनिधि महाधिवेशनमा आइपुगेका छन् । 'जिल्ला समिति र प्रदेश समितिबाट समेत पहिलेकै आधारमा प्रतिनिधि तोकिएको छ,' उनले कान्तिपुरसँग भने, 'बाँकी केहीलाई मनोनित समेत गरेर ५ सय ९२ प्रतिनिधि मधेशबाट आइपुग्नुभएको छ ।'

२१ फागुनमा भएको चुनावमा मधेशका ३२ मध्ये ३० सिट जितेको रास्वपाले आन्तरिक विवाद, पार्टीमा सुरुदेखि नै सक्रिय र पछि जोडिएकाबीचको किचलो लगायतका कारण अधिवेशन हुन नसकेको नेताहरू बताउँछन् । त्यही विवादका क्रममा विभिन्न जिल्लामा नेता, कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो । स्थानीय नेताहरू चाहिँ सांसदहरूले हस्तक्षेप गरेका कारण विवाद बढेको आरोप लगाउँछन् ।

मधेश प्रदेशका ८ वटै जिल्लाका रास्वपा जिल्ला सभापतिहरू पद दोहोर्‍याउने इच्छा राख्थे । अधिवेशन भएको एक मात्र जिल्ला पर्सामा जिल्ला सभापति हरि पन्त नै कुटाकुट र तनावका बीच दोहोरिएका छन् । रास्वपाका प्रदेश सभापति तपेश्वर यादवले एउटा जातीय समूह र आफूअनुकूलको व्यक्तिलाई काखी च्यापेका कारण अधिवेशन प्रभावित बनेको भन्दै मधेश प्रदेशका जिल्ला सभापतिहरुले रास्वपा केन्द्रीय समितिमा उजुरीसमेत गरेका छन् । 

मधेश प्रदेश सभापतिका लागि रास्वपामा तपेश्वर यादव र शिव यादवबीच प्रतिस्पर्धा देखिएको थियो । यी दुवैजना सिरहाका हुन् ।  समानुपातिकमा सबैभन्दा धेरै मत पाएका वरिष्ठ नेता बालेन्द्र शाहको पुख्र्यौली जिल्ला महोत्तरीमा पनि बन्द सत्रमा विवाद भई अधिवेशन अनिश्चितकालका लागि स्थगित गरियो ।

रास्वपाको धनुषा जिल्ला पार्टी कार्यालयमा २२ जेठमा तालाबन्दी गरियो, रास्वपा नेता बाली शर्मा अनसनसमेत बसे । जिल्ला अधिवेशनकै दिन रास्वपाका धनुषा सभापति लक्ष्मेश्वर यादव पार्टी केन्द्रीय अनुशासन आयोगबाट निलम्बित भए, त्यसपछि विवाद थप बढ्यो । सिरहामा भएको कुटाकुटमा पार्टीको र्‍यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापासहित कयौं नेता–कार्यकर्ता घाइते भए ।

बारामा पनि रास्वपाको विस्तारित बैठकमा कार्यकर्ताबीच चर्काचर्की हुँदा बाराका चार वटै सांसद गणेश धिमाल, चन्दन सिंह, अरबिन्द साह र रहबर अन्सारी प्रहरीको सुरक्षामा बाहिरिनुपर्ने अवस्था बनेको थियो ।

मधेशमा देखिएको समस्याको विषयमा महाधिवेशनअघि सभापति लामिछानेले प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । छलफलपछि लामिछानेले सहमतिका आधारमा नेतृत्व चयन हुने र अहिलेलाई तदर्थ समितिबाट प्रतिनिधि छान्ने विकल्प सुनाएको एक सांसदले बताए ।

रास्वपा प्रवक्ता मनीष झाले २०७९ मा भएको चुनावमा रास्वपा मधेशमा जम्मा ७२ हजार मत आएको स्मरण गराउँदै निर्वाचनपछि एकाएक आकर्षण बढेकाले संगठन विस्तार नै ढिला भएको बताए । 'त्यस्तोमा संगठन विस्तारको काम नै ढिलाइ हुन पुगेको हो,' उनले कान्तिपुरसँग भने । पार्टी संस्थागत हुने प्रक्रिया ढिला हुँदा विवाद देखिएको र त्यसको असर महाधिवेशनमा परेको उनले बताए ।

केन्द्रीय निर्वाचन आयोगले जेठ २६ गते सूचना जारी गर्दै मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो । पछि स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत जानुपर्ने भएकाले अहिल्यैदेखि आधार बलियो बनाएर जाने कुरा भएकाले महाधिवेशनपछि मिलाएर मात्र जाने निर्णयमा पुगिएको प्रवक्ता झाले बताए । 'अहिलेलाई पुरानै तदर्थ समितिबाट प्रतिनिधि छानियो, पछि संगठनात्मक रूपमा मिलाएर जाने कुरा भयो,' उनी भन्छन् ।

सिराहाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका रामेश्वर यादवले अधिवेशन भएर आउन आएको भए अझ राम्रो हुने भए पनि केन्द्रले तत्काललाई मिलाएकाले आफूहरु सहभागी भएको बताए । 'अधिवेशनबाट कसैलाई वञ्चित गराउने कुरा भएन, सबैलाई सहभागी गराउने गरेर केन्द्रबाट सर्कुलर आयो र तत्काललाई प्रतिनिधि बनेर आएका छौं,' उनले भने ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully