लोकतन्त्र, संघीय गणतन्त्र र विधिको शासनमा अडिग रहनुपर्नेमा नेताहरूको जोड, आन्तरिक एकता बलियो बनाउन पनि रास्वपालाई सुझाव
What you should know
काठमाडौँ — पहिलो महाधिवेशन गरिरहेको सत्तारूढ रास्वपालाई अन्य राजनीतिक दलले भूराजनीतिक सन्तुलन कायम गर्ने र फरक विचारलाई सम्मान गर्ने नीति तय गर्न सुझाव दिएका छन् । महाधिवेशन उद्घाटन समारोहमा आइतबार शुभकामना दिँदै विभिन्न दलका नेताहरूले लोकतन्त्र, संघीय गणतन्त्र र विधिको शासनमा अडिग रहन पनि आग्रह गरेका छन् ।
रास्वपाका महाधिवेशनमा कांग्रेस, एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताले शुभकामना दिएका थिए । उनीहरूले विगतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिए । विगतमा बलियो जनमत पाएका दलहरू आन्तरिक समस्याका कारण अप्ठेरोमा परेको उदाहरण दिँदै रास्वपालाई आन्तरिक एकता बलियो बनाउन पनि उनीहरूले सुझाव दिए ।
कांग्रेस सभापति गगन थापाले लोकतन्त्र, कानुनी शासन, सामाजिक न्यायलाई नबिर्सन सुझाव दिए । ‘लोकतन्त्र, कानुनी शासन, समावेशी, सामाजिक न्याय संविधानमा सजाउनका लागि मात्र होइनन् । नेपाली समाजको डीएनएमा यी विषय राम्रोसँग घोलिएका छन् । म विश्वास गर्छु, यो महाधिवेशनले समाजका यी आधारभूत मान्यतालाई स्पष्ट बनाउने मात्र होइन, मन, वचन र कर्मले यी मूल्यहरूलाई अगाडि बढाउन प्रण पनि गर्नेछ,’ उनले भने ।
विगतमा कांग्रेसलगायत दलले जनमतलाई सदुपयोग गर्न नसकेको इतिहासबाट शिक्षा लिन उनले रास्वपालाई सुझाव दिए । ‘रास्वपाको यो जनमत असाधारण छ, लोभलाग्दो छ । विगतमा दलहरूले तीन–चार पटक यस्तै जनमत प्राप्त गरे । तर हरेक पटक दुर्घटनामा पर्यो । नेताहरूको अहंकारबीच टकराव भयो, व्यक्तिबीच टकराव भयो । जसको कारणले दुर्घटना भयो । अर्को कुरा, जनमतले शक्ति दियो तर शक्तिको सीमा हुन्छ भनेर बुझिएन । त्यसले सत्ताको उन्मादमा चढायो, जसका कारण हामीले अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौं । जसका कारण दुर्घटनामा पर्यो । म कामना गर्छु । यी दुवै अवस्थाको सामना (रास्वपाले) गर्नु नपरोस् ।’
थापाले कांग्रेसले ०४८, ०५६, माओवादीले ०६४ र नेकपाले ०७४ को जनमत सम्हाल्न नसकेकोतर्फ संकेत गरेका थिए । ‘जनमत प्राप्त गरेका पार्टीहरूले आफूलाई सम्हाल्न नसक्दा पहिलो सिकार पार्टी बन्यो । लोकतन्त्र बन्यो । त्यसको सिकार नागरिक बने । हाम्रो पुस्ता खेर गयो । यो असफलता अब नेपालले बेहोर्नु हुँदैन । त्यसैले रास्वपाले प्राप्त गरेको सफलता स्थिरताको बनोस् ।’
कांग्रेस सभापति थापाले रास्वपा सरकारले गर्ने राम्रा कामको समर्थन र गलत कामप्रति प्रश्न गर्ने बताए । ‘कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी जहाँ प्रश्न गर्नुपर्ने हो, औंला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौं । थपडी बजाउनुपर्नेमा बजाउँछौं,’ उनले भने, ‘देशले सीमा मिचियो भन्दै गर्दा औंला उठायौं । तर नेपालले कुनै देशको सीमा मिचेको छैन, मिच्न पनि दिन्न भनेर बोलेको दिन जोडदार ढंगले रास्वपाभन्दा पनि ठूलो स्वरले हामी थपडी बजाउँछौं ।’
थापाले रास्वपा प्रतिनिधिहरूलाई आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि प्रश्न गर्न आग्रह गरे । कांग्रेसमा ढिलो गरी प्रश्न उठाएको उल्लेख गर्दै त्यस्तो गल्ती नगर्न उनको सुझाव थियो । ‘आफ्नै दलभित्र प्रश्न गर्न छाड्नु हुँदैन । हामीले हाम्रा नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं । तपाईंले गल्ती नगर्नुहोला । गल्ती गरेका बेला आफ्नै नेतालाई प्रश्न गर्न साहस गर्नुहोला,’ उनले थपे, हामीले हाम्रो पार्टी दास र लासको होइन भनेर केही अगाडि भन्न सक्नुपर्थ्यो, सकेनौं । त्यसबाट तपाईंले सिक्नुहोला ।’
थापाले लोकतन्त्रलाई मन्त्र बनाएर सुशासन दिन पनि आग्रह गरे । ‘गरिबी, विभेद हाम्रा दुश्मन हुन् । सबैका विरुद्ध रास्वपा लड्दै गर्दा कांग्रेसलाई साथमा पाउनु हुनेछ,’ उनले थपे ।
एमाले नेता प्रदीप ज्ञवालीले रास्वपालाई भूराजनीतिक सन्तुलन कायम राख्न तथा राष्ट्रिय हित संरक्षण गर्ने दिशामा अघि बढ्न सुझाव दिएका छन् । ‘रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री (शिशिर खनाल) भारत भ्रमण गरेर फर्कनुभएको छ । भूराजनीतिक जटिलता भएको नेपालजस्तो देशले अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु भनेजस्तै भूराजनीतिभित्र राष्ट्रिय हितलाई संरक्षण गर्ने जटिलतालाई अवश्य पनि अनुभूत गर्नुभएको छ,’ उनले भने, ‘हाम्रा साना गल्ती, अभिव्यक्ति र जेस्चरले निम्त्याउने परिणामलाई नेपालजस्तो सानो देशले थेग्न गाह्रो हुनेछ ।’
नेता ज्ञवालीले सरकारका कतिपय गतिविधि रास्वपाको वाचापत्रसँग मेल नखाएको पनि बताए । ‘सरकारको प्रारम्भिक गतिविधिले प्रश्न खडा गरेको छ । महाधिवेशनबाट नेपाली जनतालाई प्रश्नको जवाफ दिनुपर्छ । लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था हो । न्यायालय, राष्ट्रपति कार्यालय, संसद् र आलोचनाको स्वर कमजोर भयो भने, अपारदर्शिता भयो भने स्वाभाविक छ, जनमत सधैंभरि नरहन सक्छ,’ उनले भने, ‘वाचासँग मेल नखाने कतिपय घटना भएका छन् । नेपालको लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस् । गाडीमा ब्रेक र एक्सिलेटर हुन्छ । एक्सिलेटर मात्र थिच्दा दुर्घटना पनि हुन सक्छ भन्ने ध्यानमा राखेर अघि बढ्नु हुनेछ भन्ने विश्वास छ ।’
समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहालको शुभकामना सन्देश नेता वर्षमान पुनले सुनाएका थिए । सुशासनको मुद्दामा आफ्नो दल र रास्वपाबीच समानता रहेको दाहालको धारणा उनले उल्लेख गरेका थिए । ‘नेकपा र रास्वपाबीच कैयौं मुद्दामा समानता छ । हामीले निरन्तरतालाई क्रमभंगले राजनीतिक बाटो तय गरेका छौं । समाज रूपान्तरणका एजेन्डामा नजिक पाउँदै छौं,’ दाहालको भनाइ थियो, ‘हामीबीच सुशासनको एजेन्डामा समान छ । सुशासनमा नेकपा र रास्वपाजति सहकार्य अरूसँग भएको छैन ।’
नेता पुनले संविधानभन्दा बाहिर नगएर विधिसम्मत रूपमा सुशासनको कदम चाल्न रास्वपा नेतृत्वको सरकारलाई आग्रह गरे । थिति बसाउने सरकारको अभियानमा पूर्ण समर्थन रहने पनि उनले उल्लेख गरे । जनमतबाट नमातिन आग्रह गर्दै उनले भने, ‘त्यसैले बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ । लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली स्थायी हुनुपर्छ भन्न स्थापित लोकतान्त्रिक मान्यता हो ।’
रास्वपाले छोटो राजनीतिक यात्राबाट ठूलो सफलता पाएको उल्लेख गर्दै नेता पुनले त्यसको सदुपयोग गर्न सुझाव दिए । ‘तपाईंहरूले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल हुनुभएको छ । युवाको सहभागिताले एक तहसम्म आशा जगाएको छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहलाई मिलेर अघि बढ्न सुझाव दिए । ‘आसेपासे र अन्य शक्तिले रवि ठूलो कि बालेन भनेर खेलिदिन सक्छन् । तपाईंको एकताले नै पाँच वर्ष सुनिश्चित छ । पटक–पटक कुरा गर्नुस् । मेरो पुस्ताका साथीहरूले षड्यन्त्रको आविष्कार गरेर अनेक थरी तानाबाना बुन्नुभएको छ,’ उनले भने, ‘जेन–जी विद्रोह र रास्वपाको उदय पचाउन नसकेर अनेक तानाबाना बुन्न थालिएको छ । त्यसमा केही सत्यता होला तर प्रमुख पाटो होइन ।’
भट्टराईले रास्वपामा वैचारिक स्पष्टता जरुरी भएको बताए । ‘वैचारिक रूपमा प्रस्टता चाहिन्छ । मूलभूत रूपमा ठीकै छ । केही अस्पष्टता छन् । संवैधानिक समाजवादको अलि व्याख्या गरे राम्रो हुन्छ,’ उनले भने, ‘(सरकारको) नेतृत्व पाँच वर्ष कार्यकाल पूरा गर्नुपर्छ । १०–१५ वर्ष राजनीतिक स्थिरता होस् । रवि र वालेन्द्रले २५, ३० वर्ष नेतृत्व गर्नुपर्छ । बहुदलीय लोकतन्त्रमा भिन्न विचार हुन्छन् । समेटेर जानुहोस् ।’ उनले ‘चुनावमा चुपचाप घण्टी छाप’ भनेको रास्वपाले गठन गरेको सरकारले अब चुपचाप विकास गर्नुपर्ने बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अवसर गुमाए देशले धोका पाउने बताए । ‘विगतमा सीमित राजनीतिक दल र तिनका नेताले लुटतन्त्र मच्याइरहेका थिए । निर्वाचनमार्फत परिवर्तनको चाहनालाई संस्थागत गर्ने जिम्मेवारी रास्वपामा आइपरेको छ,’ उनले भने, ‘इतिहासले दिएको अवसर चुकाउनुभयो भने तपाईं, पार्टी र देशलाई धोका हुन्छ । जिम्मेवारी सफतापूर्वक पूरा गर्नुहोस् ।’
उनले राजा चाहिन्छ भन्नेहरूको मत पनि रास्वपाले पाएको जनाउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरे । ‘नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ । वालेन्द्रले राजा ल्याउँछन् भनेर भोट दिएका मान्छे पनि छन्,’ उनले थपे, ‘निषेधको होइन, सहमतिको राजनीति गरौं ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने जिम्मेवारी पूरा गर्न रास्वपालाई आग्रह गरे । ‘संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षताजस्ता महत्त्वपूर्ण विषय भए पनि अधुरो छ,’ उनले भने, ‘संविधान संशोधन गरी विकृति र विसंगति हटाएर संशोधन गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ ।’
जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शाहलाई समस्याभन्दा माथि उठेर समाधान खोज्न सुझाव दिए । ‘प्रधानमन्त्रीले समस्याभन्दा माथि उठेर समाधान खोज्नुहुन्छ । प्रधानमन्त्री स्मार्ट, ड्यासिङ, स्टाइलिस देखिनुभएको छ,’ उनले भने, ‘कुनै दिन विपक्षीहरूले कालो ड्रेस लगाउन रोक्ने विधेयक ल्याउन माग गर्न सक्छन् ।’ उनले आफू सहयात्री र सहयोगीका रूपमा उपस्थित भएको उल्लेख गरे । ‘यो महाधिवेशन मात्र होइन, क्रान्तिको महोत्सव हो,’ उनले भने, ‘देश विकासका लागि अघि बढ्नोस् । तपाईं जुन आन्दोलनबाट उदय हुनुभएको छ, सहिदको सपना कहिल्यै नबिर्सिनुहोला ।’
नागरिककेन्द्रित लोकतन्त्रमा जान चाहन्छौं : वाग्ले
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रास्वपा नागरिककेन्द्रित लोकतन्त्रमा जान चाहेको बताए । रास्वपा उदार लोकतान्त्रिक बाटोबाट अघि बढेर समग्र विकास गर्ने पक्षमा रहेको उनको भनाइ थियो ।
‘हामी कसैलाई हराउनभन्दा नेपाललाई जिताउन आएका हौं । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौं,’ उनले भने, ‘हामी यस्तो उदार लोकतन्त्र चाहन्छौं, जसले निर्वाचनबाट सरकार बनोस् तर कानुन र नागरिक सर्वोच्चताले सत्तालाई मर्यादित राखोस् । जहाँ बहुमतले शासन गरोस्, अल्पमत पनि सम्मानित होस् ।’
संविधान बने पनि संस्था बलिया नहुँदा समस्या भएको वाग्लेले बताए । ‘लोकतन्त्रको संस्थागत गुणस्तर माथि उठाउनुपर्नेछ । संविधान बन्यो, संस्था बलिया भएनन् । हामी विद्रोह मात्र होइन, निर्माण गर्छौं । हामी संस्थागत पार्टीमा रूपान्तरण गर्दै छौं,’ उनले भने, ‘युवा पुस्ताले प्रश्न मात्र होइन, उत्तर दिन चाहन्छ । युवा पुस्ताले विद्रोह मात्र गर्दैन, शासन पनि चलाउन सक्छ । सपना मात्र देख्न जान्दैन, परिणाम पनि दिन जान्दछ ।’
