सोमबार बिहान ८ बजेदेखि बन्दसत्रको तालिका भए पनि सांसद, केन्द्रीय प्रतिनिधिसहित जिल्लाका नेताहरू छुटेपछि उनीहरूलाई समेट्ने गरी छलफल भइरहेको रास्पपाका एक नेताले बताए ।
काठमाडौँ — महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय सदस्यहरूकै नाम छुटेपछि रास्वपाको बन्दसत्र सुरु हुन ढिलाई भएको खुलेको छ । सोमबार बिहान ८ बजेदेखि बन्दसत्रको तालिका भए पनि सांसद, केन्द्रीय प्रतिनिधिसहित जिल्लाका नेताहरू छुटेपछि उनीहरूलाई समेट्ने गरी छलफल भइरहेको रास्पपाका एक नेताले बताए । उनका अनुसार १० जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको फेला परेको छ । 
यसैबीच चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रका कार्यक्रम मंगलबार नहुने सम्भावना बढेको छ ।
प्रतिनिधि यकिन गर्ने कार्यमा संलग्न नेताहरूले मंगलबार बिहानैदेखि बन्दसत्र सुरु गर्नेबारे छलफल गरिरहेका छन् । यो विषयको जानकारी सभापति रवि लामिछानेलाई दिइसकिएको छ ।
महाधिवेशनको उद्घाटन आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए ।
बन्दसत्र कतिखेर हुने भन्ने अन्योल हुँदा महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थलमा आराम गरिरहेका छन । केही प्रतिनिधि भने नाचगान गरिरहेका छन् ।
