'हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ-विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।'
What you should know
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्माले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरेकोमा सरकारको भर्त्सना गरेका छन् । सोमबार राति जारी विज्ञप्तिमार्फत उनले पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेत पुगेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको भर्त्सना गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, 'नेकपा (एमाले)का उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ । नेकपा (एमाले) सदैव कानुनी राज्य‚ सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।'
उनका अनुसार उपाध्यक्ष पौडेल सोमबार नै सुर्खेतको कार्यक्रम सकेर मंगलबार काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो । 'विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो 'स्टन्ट' र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ । सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,' उनले भनेका छन् ।
उनले अहिलेको सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख रहेको आरोप पनि लगाएका छन् । 'हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ-विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् । सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियायाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु,' उनले भनेका छन् ।
