रास्वपाका एक नेताका अनुसार, महाधिवेशन प्रतिनिधिको सूचीमा कतिपय नामहरू दोहोरिएपछि त्यसलाई सच्याउनलाई समय लागि रहेको छ ।
What you should know
भरतपुर — बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र साढे ३ बजेसम्म पनि सुरु हुन नसकेपछि कतिपय प्रतिनिधि हलमै सुत्न थालेका छन् । चितवनको उखरमाउलो गर्मीका बीच रास्वपाको बन्दसत्रमा आएका प्रतिनिधि गर्मीका कारण मनोनयन दर्ताका लागि तोकिएको हलमा सुत्न थालेका हुन् ।
महाधिवेशन प्रतिनिधि रमेश अधिकारीले लामो समयसम्म बन्दसत्र सुरु नभए दुःख भए पनि कुर्नुको विकल्प नभएको बताए । उनले कान्तिपुरसँग भने, ‘भोट हाल्नलाई आएको हो, कुरेर भए पनि भोट हालेरै जाने हो ।’ हलमा केही वृद्ध अवस्थाका प्रतिनिधिहरू समेत देखिएका छन् । हलमा बोतलमा रास्वपाको चिह्न भएको पानीको बोतलको समेत व्यवस्था गरिएको छ । 
काभ्रेबाट आएका अर्का प्रतिनिधिले आफूहरूलाई दुःख दिने काम गरेको बताए । ‘यहाँ सचिवालय पनि रहेनछ, के भइरहेको छ भनेर कसैले भनेको पनि छैन,’ उनले भने, ‘के के न हुन्छ भनेर आयौं, यस्तो गर्मीमा कुराएको कुरायै गर्ने काम भयो ।’ बन्दसत्रका लागि तोकिएको मुख्य हलमा चाहिँ अहिले प्रवेश दिइएको छैन । रास्वपाले परिचालन गरेको बाउन्सरहरूले जाँच गरेपछि मात्र महाधिवेशन स्थलमा जाने व्यवस्था गरिएको थियो । त्यसअनुसार, गेटमा समेत जाँच गरेरभित्र पठाइने गरिएको छ । भित्रसमेत छुट्टै जाँचको गर्ने व्यवस्था छ ।
रास्वपाका एक नेताका अनुसार, महाधिवेशन प्रतिनिधिको सूचीमा कतिपय नामहरू दोहोरिएपछि त्यसलाई सच्याउनलाई समय लागि रहेको छ । तोकिएको समयमा महाधिवेशन सुरु नहुँदा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाहलगायत नेताहरू आफू बसेको होटलमै छन् । बन्दसत्रमा रास्वपा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्नेछन् । बन्दसत्रको सुरुवातमा अनुशासन आयोगतर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
लगत्तै कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेछिन् र त्यसमा छलफल हुनेछ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन र सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन् । अर्थमन्त्रीसमेत रहेका उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्तावना पेस गर्ने कार्यतालिका पनि छ ।
