रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले अब केवल विरोध गर्ने होइन, शासन सञ्चालन गर्न सक्ने राजनीतिक शक्तिका रूपमा प्रमाणित गर्ने बताएका हुन् ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले पार्टी अब राजनीतिक शक्तिबाट संस्थागत राजनीतिक दलमा रूपान्तरण हुने घोषणा गरेका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले अब केवल विरोध गर्ने होइन, शासन सञ्चालन गर्न सक्ने राजनीतिक शक्तिका रूपमा आफूलाई प्रमाणित गर्ने बताएका हुन् ।
'आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं,' उनले भने, 'नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ । केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ ।' वाग्लेले रास्वपाको उद्देश्य सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन भएको बताए। 'हामी विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौं,' उनले भने ।
उनले आफ्नो पार्टी पुरानो पुस्तासँग संघर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार बसाल्न आएको बताए । 'हामी कसैलाई हटाउन होइन, नेपाललाई जिताउन आएका हौं,' उनले भने, 'रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ । आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ ।'
नेपालले लोकतन्त्र स्थापना, संविधान निर्माण र निर्वाचनजस्ता उपलब्धि हासिल गरे पनि उत्तरदायित्व, संस्थागत क्षमता र गुणस्तरीय शासन कमजोर रहेको उनको भनाइ थियो ।
'निर्वाचन धेरै भए, उत्तरदायित्व कमजोर रह्यो । संविधान बन्यो, संस्थाहरू बलिया भएनन् । राज्यको आकार विस्तार भयो तर क्षमता बढ्न सकेन,' उनले भने ।
रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र र समन्यायिक समाज निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै उनले बहुमतले शासन गर्ने तर अल्पमत पनि सम्मानित रहने राजनीतिक व्यवस्था आवश्यक रहेको बताए । उनले पहुँचका आधारमा होइन, क्षमता र परिश्रमका आधारमा सफलता प्राप्त हुने आर्थिक प्रणाली निर्माण गर्नुपर्ने धारणा राखे ।
'हामी यस्तो नेपाल चाहन्छौं जहाँ युवाले अवसर खोज्न देश छोड्नुपर्ने बाध्यता नहोस्,' उनले भने, 'जहाँ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस् ।' महाधिवेशनलाई नेपालको 'राजनीतिक पुनर्जागरणको प्रारम्भ' बन्न सक्ने अवसरको रूपमा चित्रित गर्दै उनले निराशालाई आशा, आक्रोशलाई निर्माण र विद्रोहलाई रूपान्तरणमा बदल्नुपर्ने आह्वान गरे ।
'इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ । हाम्रो पुस्ताले त्यो अवसर पाएको छ,' उनले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्छ ।'
