नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

नेपाल र ब्रिटिस भारत सीमाको व्यवस्थाका क्रममा निर्माण गरिएका जङ्गे पिलर पनि उल्लेखनीय मानिन्छ, जसले सीमा स्पष्टता र प्रशासनिक तथा कूटनीतिक स्थिरतामा ठूलो योगदान पुर्‍याएको छ : पूर्वराष्ट्रपति भण्डारी

असार ७, २०८३

कान्तिपुर संवाददाता

To protect Nepal's sovereign existence, we must learn from Jung Bahadur: Former President Bhandari

What you should know

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छिन् । 

आईतवार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जंगबहादुर राणा’ प्रवचन कार्यक्रममा भण्डारीले १९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जंगबहादुर राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी हुन् । 

दक्षिण एसियाको अधिकांश भूभाग ब्रिटिस साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उनले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्ने बताएकी हुन् ।

जंगबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको पनि भण्डारीको भनाइ छ । 

त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिस साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले बताइन् । 

यस्तो छ जंगबहादुरबारे भण्डारीको भनाइ

जंगबहादुरको महत्त्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षासँग सम्बन्धित छ । १९औँ शताब्दी विश्वव्यापी रूपमा औपनिवेशिक विस्तारको युग थियो । त्यस समयमा दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिस साम्राज्यको अधीनमा गइसकेको थियो । यस्तो परिस्थितिमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो । यस उपलब्धिको श्रेय हामीले तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्दछ । उहाँले बेलायतको भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभयो ।

त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिस साम्राज्यबीचको सम्बन्धलाई केही हदसम्म व्यवस्थित बनायो । यसै सन्दर्भमा नेपाल र ब्रिटिस भारत सीमाको व्यवस्थाका क्रममा निर्माण गरिएका जङ्गे पिलर पनि उल्लेखनीय मानिन्छ, जसले सीमा स्पष्टता र प्रशासनिक तथा कूटनीतिक स्थिरतामा ठूलो योगदान पुर्‍याएको छ । 

जंगबहादुरका कतिपय निर्णयहरू इतिहासमा विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन गरिएका छन् । तर सन् १८५७ को भारतीय विद्रोहको दमन गर्न सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र अर्थात नयाँ मुलुक फिर्ता पाउनु उहाँको शासनकालसँग जोडिएको एक महत्त्वपूर्ण राष्ट्रिय उपलब्धिको रूपमा हामीले स्मरण गर्नुपर्छ ।

आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको छ । आज राष्ट्रियताको अवधारणा भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनसँग पनि जोडिएको छ । 

इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट सिक्दै हामीले अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्दछ । जंगबहादुरको जीवन र कार्यको अध्ययनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ । राष्ट्रको हित र स्वतन्त्रताको रक्षा आवश्यक छ, तर त्यससँगसँगै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विस्तार पनि उत्तिकै आवश्यक छ। राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हो ।

कान्तिपुर

Link copied successfully