‘युवा पुस्ताले प्रश्न मात्र होइन उत्तर दिन चाहन्छ । युवा पुस्ताले विद्रोह मात्र गर्दैन, शासन गर्न पनि चलाउन सक्दछ । केवल सपना मात्र देख्न जान्दैन, परिणाम पनि दिन जान्दछ ।’
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले युवा पुस्ताले विद्रोह मात्र गर्दैन शासन पनि चलाउन सक्ने बताएका छन् ।
‘लोकतन्त्रको संस्थागत गुणस्तरमाथि उठाउनुपर्ने छ । संविधान बन्यो संस्था बलिया भएनन् । हामी नागरिक केन्द्रित लोकतन्त्रमा जान चाहन्छौं । विद्रोह मात्र होइन, निर्माण गर्दछौं । हामी संस्थागत पार्टीमा रुपान्तरण गर्दैछौं,’ उनले रास्वपाको पहिलो महाधिवेशनमा भने, ‘युवा पुस्ताले प्रश्न मात्र होइन । उत्तर दिन चाहन्छ । युवा पुस्ताले विद्रोह मात्र गर्दैन, शासन गर्न पनि चलाउन सक्दछ । केवल सपना मात्र देख्न जान्दैन, परिणाम पनि दिन जान्दछ ।’
वाग्लेले रास्वपा उदार लोकतन्त्रको निर्माण गर्न चाहेको बताए ।
‘हामी कसैलाई हराउन भन्दा नेपाललाई जिताउन आएका हौं । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौं,’ उनले भने, ‘हामी यस्तो उदार लोकतन्त्र चाहन्छौं जसले निर्वाचनले सरकार बनाओस् तर कानुन र नागरिक सर्वोच्चताले सत्तालाई मर्यादित राखोस् । जहाँ बहुमतले शासन गरोस्, अल्पमत पनि सम्मानित होस् ।’
