मंगलबार बिहान ८:३० देखि दिउँसो ३ सम्म पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । सोमबार बिहान ९ बजेसम्म प्रतिनिधिहरूमाथि दाबी–विरोध गर्न सकिनेछ भने सोही दिन बिहान १० बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
निर्वाचन आयोगले असार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फाराम वितरण सुरु गर्नेछ । सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशन गरिनेछ । ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ ।
यसैगरी, साँझ ७ बजेदेखि ९ सम्म दाबी–विरोधमाथि छानबिन हुनेछ । उम्मेदवारी फिर्ता लिन राति ९:१५ बजेसम्मको समय तोकिएको छ भने अन्तिम उम्मेदवारको नामावली राति ११ बजे सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार असार ९ गते बिहान ७ बजेदेखि ८:३० बजेसम्म मौन अवधि कायम रहनेछ । त्यसपछि बिहान ८:३० देखि दिउँसो ३ सम्म पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ । मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गरिने जनाइएको छ । दोस्रो चरणको निर्वाचनसम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।
