‘इतिहासले दिएको यो अवसर चुकाउनुभयो भने तपाईं, पार्टी र देशलाई धोका हुन्छ ।'
काठमाडौँ — चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले इतिहासले दिएको अवसर जिम्मेवारीपूर्वक उपयोग गर्न रास्वपालाई सुझाव दिएका छन् । उनीहरूले संविधान संशोधन, सुशासन, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस सभापति गगन थापाले विगतमा पुराना दल जनमतको उन्माद लागेका कारण दुर्घटनामा परेको भन्दै रास्वपाले पाएको जनमत लोभलाग्दो भएको बताए । 'रास्वपाले पाएको जनमत लोभलाग्दो छ । मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु,' उनले भने ।
विगतमा पनि नेपालका राजनीतिक दलले ठूलो जनमत प्राप्त गरेको उल्लेख गर्दै थापाले भने, 'नेताहरूको अहंकारबीच टकराव भयो, व्यक्तिबीच टकराव भयो । जसको कारणले दुर्घटना भयो । जनमतले यसरी बुझियो जनमतले शक्ति दियो, शक्तिको सीमा हुन्छ भनेर बुझिएन । त्यसले सत्ताको उन्मादमा चढायो, जसका कारण हामी हामीले अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौँ । जसका कारण जनमत दुर्घटनामा पर्यो । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् ।'
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषय उठाए । संविधान अधुरो रहेको भन्दै उनले त्यसलाई पूरा गर्ने जिम्मवारी रास्वपाको रहेको बताए ।
‘संविधानमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षिता महत्त्वपूर्ण विषय भए पनि अधुरो, अपूर्ण रहेको छ,’ उनले भने, ‘संविधान संशोधन गरी, परिमार्जन गरी, विकृति र विसंगति हटाएर संशोधन गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ ।’
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले रास्वपा महाधिवेशनलाई क्रान्ति-उत्सवको संज्ञा दिए । राउतले आफूले देखेका सपना साटासाट गर्न चितवन पुगेकोसमेत बताए ।
उनले भने, 'यो एउटा महाधिवेशन मात्र होइन, यो क्रान्तिको महोत्सव होइन ।' 'जुन सपना तपाईंहरूले देख्नु भएको छ त्यही सपना पनि मैले देखेको छु । म प्रतिस्पर्धी होइन सहयोगी र शुभेच्छुकका रूपमा उपस्थित भएको छु,' उनले भने । जेन-जी आन्दोलनको मर्म नभुल्न पनि अध्यक्ष राउतले रास्वपा नेतृत्वलाई आग्रह गरे ।
उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई समस्याभन्दा धेरै माथि पुगेर त्यसको समाधान गर्न सक्ने व्यक्ति भएको भन्दै प्रशंसासमेत गरेका छन् । अध्यक्ष राउतले भने, 'स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट, स्टाइलिस युवा हुनुहुन्छ हाम्रो प्रधानमन्त्री ।' देवानन्दलाई सार्वजनिक स्थलमा कालो ड्रेस लगउन निषेध गरेको आफूले सुनेको भन्दै उनले थपे, 'कुनै दिन विपक्षीहरुले प्रधानमन्त्रीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न बेर छैन ।'
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा पार्टीलाई जनताले दिएको अवसर चुकाए देशले धोका पाउने बताए । ‘विगतमा सिमित राजनीतिक दल र तिनका नेताले लुटतन्त्र मच्याइरहेका थिए । हामीले परिवर्तन जरुरी छ भन्ने वकालत गरेका थियौं । निर्वाचनमार्फत परिवर्तनको चाहनालाई संस्थागत जिम्मेवारी रास्वपामा आइपरेको छ,’ उनले भने, ‘इतिहासले दिएको अवसर पार्टी र व्यक्तिको जीवनमा कहिलै आउँदैन । यो अवसर चुकाउनु भयो भने तपाई, पार्टी र देशलाई धोका हुन्छ । जिम्मेवारी सफतापूर्वक पुरा गर्नुहोस् ।’ उनले राजा चाहिन्छ भन्नेहरूको मतसमेत रास्वपाले पाएको बताए ।
नेकपा नेता वर्षमान पुनले सुशासनको एजेन्डामा नेकपा र रास्वपाजति सहकार्य अरुसँग नभएको बताएका छन् । उनले भने, 'थिति बसाउने अभियानमा पूर्ण समर्थन छ । सुशासनका एजेन्डामा एक ठाउँमा छौं । सुशासनको कदम विधिभित्रबाटै र संविधानसम्मत होस् ।'
नेतृत्व, विचार, रणनीति, कार्यदिशा तय गर्ने विषयले समग्रमा राष्ट्रिय जीवनमा प्रभाव पार्ने उनले बताए । 'हाम्रा कैयौं समानता छन्, दुवै पार्टीले निरन्तरतालाई क्रमभंग गरेर बाटो तय गरेका हौं । समाज रुपान्तरणका एजेन्डामा नजिक पाउँछौं,' उनले भने ।
लोकतान्त्रिक प्रणालीप्रति रास्वपाको प्रतिबद्धताबारे पनि उनले चासो राखे । 'तपाईंहरुको नियतमाथि हाम्रो शंका छैन,' पुनले भने, 'सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति यहाँहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदियोस् भन्ने चाहन्छौं ।'
एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनेर उभिनेछ भन्ने प्रश्न सबैको रहेको बताए । उनले जनादेश प्राप्त गर्नु महत्वपूर्ण भए पनि त्यसको सदुपयोग कसरी हुन्छ भन्नेमा ख्याल गर्नुपर्ने भनाइ राखे । रास्वपाको काँधमा असीम जनमत रहेको र इतिहासका गलत शिक्षा होइन, यो जनादेशलाई लोकतन्त्रको सुदृढीकरणका लागि सदुपयोग गर्न सुझाव दिए ।
सरकारका प्रारम्भिक गतिविधिमा काम गर्ने हुटहुटी देखिएको उनले बताए ।'गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ । दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ,' उनले भने, 'न्यायालय कमजोर भयो भने, यदि राष्ट्रपति संस्था, संसद् कमजोर भए र आलोचना निषेध गरियो भने जनमत सधैं रहिरहन सक्छ भन्न सकिँदैन । रास्वपाको हातमा लोकतन्त्र सुरक्षित होस् भनेर आगामी दिनमा नेपाली जनता आश्वस्त हुन सकून् ।'
भूराजनीतिक र जटिलता बुझेर बढो सतर्क भएर राष्ट्रिय हितलाई ध्यानमा दिन पनि सुझाव । 'एउटा अभिव्यक्ति वा गलत निर्णयले पार्ने भूराजननीति दबाब नेपालजस्तो देशले थेग्न गाह्रो हुन्छ,' उनले भने ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाको सफलता नेपाली इतिहासमा आन्दोलनको नयाँ कडी भएको बताएका छन् । सत्तामा पुगेको रास्वपाले चुपचाप सुशासन र विकासको काम गर्नुपर्ने उनले बताए । रास्वपाका केही नीतिगत विषय अझै अस्पष्ट रहेको भन्दै ती सुधार गर्न आवश्यक रहेकामा उनले जोड दिए । उनले भने, 'केही मानिसमा ‘रवि ठूलो कि बालेन ठूलो’ भन्ने बहस छ । तर तपाईंहरू निरन्तर संवादमा रहनुपर्छ र पाँच वर्ष एकजुट भएर काम गर्नुपर्छ ।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा रास्वपाको पहिलो महाधिवेशन सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका थिए ।
