रास्वपाको महाधिवेशनलाई गगन थापाको शुभकामना- वैचारिक रूपमा स्पष्ट गराउन ऊर्जा प्रदान गरोस्

उनले प्रथम महाधिवेशन रास्वपाका लागि 'विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर' भएको बताएका छन्।

असार ७, २०८३

इकान्तिपुर डेस्क

Gagan Thapa's best wishes for the RSPB's general convention - May it provide energy to clarify ideologically

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले 'ऐतिहासिक अवसर' भएको बताएका छन्।

सोमबार फेसबुकमार्फत्  शुभकामना सन्देश जारी गर्दै थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन्।

'तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,' थापाले सन्देशमा भनेका छन्।

उनले प्रथम महाधिवेशन रास्वपाका लागि 'विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर' भएको बताएका छन्।

थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई थप स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

'यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,' उनले भनेका छन्।

थापाले रास्वपाको आगामी राजनीतिक यात्राको सफलताको समेत शुभकामना व्यक्त गर्दै प्रथम राष्ट्रिय महाधिवेशन पूर्ण रूपमा सफल होस् भन्ने कामना गरेका छन्।

इकान्तिपुर

Link copied successfully