रास्वपा महाधिवेशन आइतबारदेखि, अघिल्लै दिनदेखि चलहपहल बाक्लो

पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिर भएको महाधिवेशन लोगो अंकित ठूलो बोर्ड उद्घाटनस्थलमा टाँगिएको छ ।

असार ६, २०८३

रमेशकुमार पौडेल

RSP general convention begins on Sunday, activity has been intense since the previous day

What you should know

चितवन — रास्वपाको आइतबार सुरु हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन शनिबारदेखि नै उद्घाटनस्थल भरतपुरको गेस्टहाउस चौरमा चहलपहल बाक्लिएको छ । मञ्च निर्माणलगायत सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिर भएको महाधिवेशन लोगो अंकित ठूलो बोर्ड उद्घाटनस्थलमा टाँगिएको छ ।

तयारी चलिरहँदा नाचगान र फोटो/भिडियो खिच्न पार्टीका समर्थक तथा शुभचिन्तकको भीड देखिन्थ्यो । त्यहाँ काठमाडौंलगायत विभिन्न जिल्लाका प्रतिनिधिहरू भेटिए । कोही बासको व्यवस्था गर्न तल्लीन थिए । कोही बासको व्यवस्था गरेर महाधिवेशनको माहोल नियाल्दै थिए । महाधिवेशनमा विभिन्न पदमा उठ्ने योजना बनाएकाहरू परिचय गर्न र मत माग्न व्यस्त देखिन्थे ।

धेरै इष्टमित्र चितवनमा भएका कारण आफू आफन्तको घरमै बस्ने गोरखाका महाधिवेशनका प्रतिनिधि सरोज पोखरेलले बताए । गोरखाबाट ३३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदै छन् । गोरखामा पार्टीको संस्थापक हुन् शारदा पराजुली । उनले पहिलो पटक महाधिवेशन प्रतिनिधि भएर पार्टीको सबैभन्दा ठूलो कार्यक्रममा आउन पाउँदा गौरवान्वित भएको बताइन् । ‘पार्टीलाई हामीले जनमानसमा स्थापित गर्न दुःख गर्‍यौं, अब महाधिवेशन गरेर झनै व्यवस्थित रूपमा अगाडि बढ्नेछौं’ शारदाले भनिन् ।

डोटीबाट आइपुगेका महाधिवेशन प्रतिनिधि नरेन्द्र खड्काले गर्मी कार्यक्रम भए पनि पार्टी जीवनको महत्त्वपूर्ण क्षण भएका कारण खुसी लागेको बताए । डोटीको समूह नारायणगढका होटलमा बस्ने योजनामा थियो । डोटीकै प्रतिनिधि शारदा श्रेष्ठले चितवनको गर्मीभन्दा पनि महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने कुराले उत्साहित बनाएको बताइन् ।

महाधिवेशन प्रतिनिधिसँग समन्वय गरिरहेको अवस्थामा गेस्टहाउस चौरमा भेटिए रास्वपा चितवन जिल्ला समितिका सचिव तेजेन्द्र पौडेल । उनले महाधिवेशन प्रतिनिधि धमाधम आइरहेको बताए । प्रायः भरतपुर क्षेत्रमा बसे पनि कोही सौराहा गएका छन् । सौराहा क्षेत्रमा पनि शानिबार दिउँसो महाधिवेशनका लागि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिका गाडीका लस्कर देखिन्थे । ‘४० प्रतिशत सौराहातिर नै बस्नुहुन्छ होला, किनकि चितवन आएपछि पर्यटकीय क्षेत्र सौराहा जाऊँ भन्ने धेरैलाई हुन्छ’ सचिव पौडेलले भने ।

महाधिवेशन प्रतिनिधिले आफ्नै खर्चमा होटलमा बस्नुपर्ने हुन्छ । आवास तथा भोजन उपसमितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य राजन गौतमले प्रतिनिधिलाई होटलको विवरण, सेवा, सुविधा र मूल्यबारे पहिल्यै जानकारी गराएको बताए । त्यसका आधारमा प्रतिनिधि आफैंले होटल बुक गरेको उनले बताए । आवश्यक समन्वय पार्टीले गरेको उनको भनाइ छ । प्रतिनिधिका लागि सोमबारदेखि बन्दसत्र स्थलमा खाना र खाजाको व्यवस्था हुनेछ ।

रास्वपाले पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका प्रमुखलाई निमन्त्रणा पठाएको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका दल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका डा.सीके राउतलगायतलाई आमन्त्रण गरेको जानकारी दिए ।

उनले कांग्रेसबाट पार्टी सभापति गगन थापा आउने सम्भावना रहेको बताए । त्यसैगरी एमालेबाट प्रदीप ज्ञवाली आउने, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देल आउने जानकारी दिए । महाधिवेशनको बन्दसत्र भने भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

महाधिवेशन उद्घाटनका दिन आइतबारका लागि चितवन प्रहरीले पार्किङस्थल र गाडी गुड्न बन्देज लागेका सडकको विवरण सार्वजनिक गरेको छ । चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभुसन यादवले चार ठाउँमा पार्किङस्थल तय गरेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशन उद्घाटनस्थल वरपरका सडकमा गाडी गुड्न बन्देज लगाइएको छ । पूर्व–पश्चिम राजमार्गको चौबिसकोठीदेखि पूर्व र भरतपुर बाइपास सडकको मालपोत चोकदेखि पश्चिममा कार्यक्रमस्थल छ । कार्यक्रमस्थलतर्फ आउने भित्री बाटोका नौ स्थानमा गाडी रोकिनेछन् ।

त्यसैगरी भरतपुरको केन्द्रीय बसपार्क आडको खाली जमिनमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी पार्क गर्न सकिने प्रहरीले जनाएको छ । पूर्वबाट आउने गाडी त्यहाँ पार्क हुनेछन् । बाइपास सडकको विशाल चोक आडको चौरमा पनि चारपाङ्ग्रे र दुईपाङग्रे सवारी पार्क हुनेछन् । त्यसैगरी चितवन माविको खेलमैदानमा पनि साना–ठूला सवारी पार्क हुनेछन् ।

भरतपुर अस्पताल अगाडि दुईपाङ्ग्रेका लागि पार्किङस्थल तय भएको डीएसपी चन्द्रभुसन यादवले बताए । चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वर पौडेलले सुरक्षा र ट्राफिक व्यवस्थापनमा १५ सय हाराहारीमा सुरक्षाकर्मी खट्ने बताए, जसमा १६५ जना ट्राफिक प्रहरी रहनेछन् । नागरिकलाई आवागमनमा सहज हुने गरेर ट्राफिक व्यवस्थापन हुने उनको भनाइ छ ।महाधिवेशन उद्घाटनका दिन आइतबारका लागि चितवन प्रहरीले पार्किङस्थल र गाडी गुड्न बन्देज लागेका सडकको विवरण सार्वजनिक गरेको छ । चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभुसन यादवले चार ठाउँमा पार्किङस्थल तय गरेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशन उद्घाटनस्थल वरपरका सडकमा गाडी गुड्न बन्देज लगाइएको छ । पूर्व–पश्चिम राजमार्गको चौबिसकोठीदेखि पूर्व र भरतपुर बाइपास सडकको मालपोत चोकदेखि पश्चिममा कार्यक्रमस्थल छ । कार्यक्रमस्थलतर्फ आउने भित्री बाटोका नौ स्थानमा गाडी रोकिनेछन् ।

त्यसैगरी भरतपुरको केन्द्रीय बसपार्क आडको खाली जमिनमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी पार्क गर्न सकिने प्रहरीले जनाएको छ । पूर्वबाट आउने गाडी त्यहाँ पार्क हुनेछन् । बाइपास सडकको विशाल चोक आडको चौरमा पनि चारपाङ्ग्रे र दुईपाङग्रे सवारी पार्क हुनेछन् । त्यसैगरी चितवन माविको खेलमैदानमा पनि साना–ठूला सवारी पार्क हुनेछन् ।

भरतपुर अस्पताल अगाडि दुईपाङ्ग्रेका लागि पार्किङस्थल तय भएको डीएसपी चन्द्रभुसन यादवले बताए । चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वर पौडेलले सुरक्षा र ट्राफिक व्यवस्थापनमा १५ सय हाराहारीमा सुरक्षाकर्मी खट्ने बताए, जसमा १६५ जना ट्राफिक प्रहरी रहनेछन् । नागरिकलाई आवागमनमा सहज हुने गरेर ट्राफिक व्यवस्थापन हुने उनको भनाइ छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully