रास्वपाले सामूहिक उम्मेदवारीलाई प्रोत्साहन गर्दैन : महामन्त्री बुर्लाकोटी

सामूहिक उम्मेदवारीले समूहगत राजनीति बढाउने भएकाले पार्टी मेरिटका आधारमा प्रतिस्पर्धा हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

असार ६, २०८३

गौरव पोखरेल

RSP does not encourage group candidacies: General Secretary Burlakoti

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनमा पार्टीले सामूहिक उम्मेदवारीलाई प्रोत्साहन नगर्ने बताएका छन् । चितवनको भरतपुरमा कान्तिपुरसँग कुरा गर्दै बुर्लाकोटीले अहिलेसम्मको आफूहरुको अभ्यास पनि त्यही भएको बताए । 

'सामूहिक उम्मेदवारीले समूहगत राजनीति बढाउँछ र व्यक्तिगत क्षमता भएका साथीहरूलाई पछि पार्न सक्छ,' उनले भने, 'त्यसैले पार्टी मेरिटको आधारमा प्रतिस्पर्धा हुनुपर्छ भन्ने पक्षमा छ ।'

सामूहिक उम्मेदवारी, सामूहिक रूपमा भोट माग्ने वा प्रचार गर्ने कार्यलाई पनि आचारसंहिताविपरीत समेत मान्ने उनले बताए । 'अघिल्ला अधिवेशनहरूमा पनि यस्ता अभ्यासलाई निरुत्साहित गरेका थियौँ,' उनले भने, 'हरेक सदस्यले आफू इच्छाएको पदमा व्यक्तिगत रूपमा उम्मेदवारी दिने र आफ्नै रूपमा प्रचार गर्ने व्यवस्था छ ।'

आइतबारबाट सुरु हुने पार्टीको पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै उनले रास्वपाले फरक सन्देश दिने गरी महाधिवेशन सम्पन्न गर्नेसमेत बताएका छन् ।

रास्वपाको महाधिवेशन उद्घाटन भरतपुरको गेस्टहाउस चौरमा र बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुँदै छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully