रास्वपा महाधिवेशन : उद्घाटन समारोहका लागि तयार हुँदै ‘जर्मन ह्यांगर’

३ दिनसम्म चल्ने महाधिवेशनका लागि ३० हजार वर्गफिट क्षेत्रफलमा जर्मन ह्यांगर जडान, आवासका लागि १५ सय कोठाको व्यवस्था, औद्योगिक प्रदर्शनी केन्द्रमा बन्दसत्र राख्न चितवन उद्योग संघको स्वीकृति

असार ४, २०८३

रमेशकुमार पौडेल

RSP General Convention: 'German Hangar' preparing for the opening ceremony

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुने भएको छ । घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्यांगर’भित्र उद्घाटन कार्यक्रम हुने भएको हो । ‘जर्मन ह्याङ्गर’ अस्थायी तर बलियो टेन्ट हो । अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो हुन्छ । जसले गर्दा घामपानी, हुरीबतासका साथै आगलागीबाट पनि जोगिने छ ।

आइतबार उद्घाटन हुने रास्वपाको महाधिवेशनन मंगलबार सकिने छ । महाधिवेशनको बन्दससत्र गेस्टहाउस चौरआडको चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुने तय भएको छ । पहिला रत्ननगरको टाँडी निपनीमा रहेको स्टार होटलमा उद्घाटन र बन्दसत्र गर्ने तयारी थियो । होटलको पछाडि रहेको जमिनमा बाँसको पण्डाल तयार गरिँदै थियो । 

पण्डाल बनाउने काम ७० प्रतिशत पूरा भएपछि सोमबार दिउँसो काम रोक्न भनिएको थियो । मंगलबार मात्रै भरतपुरमा महाधिवेशनको कार्यक्रम गर्ने तय भएको हो । बन्दसत्र प्रदर्शनी केन्द्रमा गर्ने पार्टीले निर्णय लिए पनि केही प्राविधिक विषयले संघ र रास्वपाबीच सम्झौता हुन सकेको थिएन । त्यो विषय पनि टुङ्गिएका कारण बन्दसत्र राख्न संघले स्वीकृति दिएको संघका अध्यक्ष मदन घिमिरेले बताए ।

RSP General Convention: 'German Hangar' preparing for the opening ceremony

चितवन उद्योग संघले उद्योग मन्त्रालयअन्तर्गतको सो जग्गा औद्योगिक प्रदर्शनी र प्रवर्द्धनका लागि प्रयोग गर्ने सर्तमा प्रदर्शनी केन्द्र बनाउनका लागि लिएको चितवन उद्योग संघका अध्यक्ष घिमिरेले बताए । पार्टीको महाधिवेशन गर्दा सर्तअनुरुप नहुने देखेपछि सहजीकरणका लागि संघले मन्त्रालयमा अनुरोध गरेको थियो । जस अनुरुप मन्त्रालयबाट संघलाई पत्र प्राप्त भएको छ ।

‘स्वदेशी विशिष्ट व्यक्तित्वका साथै विदेशी राष्ट्रका अति विशिष्ट अतिथिहरू सहभागी रहने भएका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी एकपटकका लागि उक्त पार्टीको महाधिवेशन बन्दसत्रका निम्ति संघको सभाहल उपलब्ध गराउन’ अनुरोध गर्दै मन्त्रालयले संघलाई पत्र पठाएको छ। मन्त्रालय र जिल्ला सुरक्षा समितिको अनुरोधअनुरुप बन्दसत्रका लागि हल दिन संघ तयार भएको हो ।

उद्घाटन कार्यक्रमका लागि पाँच हजार कुर्सी राख्न मिल्ने गरेर ‘जर्मन ह्याङ्गर’का तीन खण्ड तयार हुने छन् । काठमाडौंको मिडिया स्पेस सोलुसनले ती संरचना बनाउँदै छ । पोखराको लिटरेचर फेस्टिबल लगायतका अन्य प्रदर्शनीमा यस्ता संरचना बनाइसकेको मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक  श्रीजल भट्टराईले बताए । मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको हुन्छ ।

मुख्य खण्डको आडमा दायाँबायाँ २० मिटर चौडा र ३० मिटर लम्बाइका थप दुईवटा खण्ड रहने छन् । दुई पाखे ह्याङ्गरको माथिल्लो उचाइ २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । पाँच हजार कुर्सीका साथै बिना कुर्सी पनि मान्छेहरू बस्न मिल्ने गरेर उद्घाटन स्थलमा ‘ह्याङ्गर’ तयार हुनेछ । 

जर्मन ह्यांगर टेन्ट विभिन्न कार्यक्रम, प्रदर्शनी, प्रोडक्ट लन्च, सांस्कृतिक कार्यक्रम तथा विवाह समारोहका लागि प्रयोग गरिने अस्थायी संरचना हो । यो मुख्यतः एल्युमिनियमका स्पान प्रयोग गरी बनाइन्छ । बलियो, टिकाउ र छिटो जडान गर्न सकिने भएकाले जर्मन ह्यांगर ठूला सार्वजनिक तथा व्यावसायिक कार्यक्रमहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । ‘ह्यांगर’ शब्द मध्य फ्रान्सेली भाषाको ह्यांगहार्टबाट आएको मानिन्छ, जसको अर्थ घर नजिकको घेराबारयुक्त संरचना भन्ने हुन्छ । 

लगभग ३० हजार वर्ग फिट क्षेत्रमा घामपानी छेक्ने र हुरीबतासले बिगार्न नसक्ने ह्यांगर बन्ने भट्टराईले जानकारी दिए । जर्मन ह्याङ्गरभित्र १०/१२ हजार मान्छे अट्न सक्ने अनुमान छ । चितवनमा गर्मी अत्यधिक छ । वर्षातको समय भएका कारण खुला चौरमा कार्यक्रम गर्दा असर पर्न सक्ने भएका कारण अस्थायी भए पनि बलियो संरचना तयार गरेको आयोजकले जानकारी दिए । 

महाधिवेशनमा आउने प्रतिनिधिहरूका लागि होटलका करिब १५ सय कोठा (रुम) आवश्यक पर्ने आवास तथा भोजन उपसमितिका संयोजक रहेका रास्वपा केन्द्रीय सदस्य राजन गौतमले बताए । भरतपुरमा धेरै होटल नभएका कारण सौराहा र जिल्लाका अन्य क्षेत्रका होटलहरूमा प्रतिनिधिहरू राख्नु पर्ने हुन्छ ।  

प्रतिनिधिहरूले होटलको खर्च आफैँ बेहोर्ने छन् । चितवनका होटल, त्यहाँको सेवा, सुविधा र मूल्य जस्ता विवरण प्रतिनिधिहरूलाई जानकारी गराइसकेका कारण प्रतिनिधि स्वयंले होटल रोजेर बुक गर्ने सुविधा रहेको गौतमले बताए । खाना र खाजाको व्यवस्था पार्टीले गर्नेछ । प्रतिनिधिहरूका लागि बन्दसत्र स्थलमा खाना र खाजाको व्यवस्था हुने गौतमले जानकारी दिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully