महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिने
काठमाडौँ — रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा लेबी नबुझाउने सदस्यहरूले भाग लिन नपाउने भएका छन् । बिहीबार बसेको रास्वपा सचिवालय बैठकले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्नेछ । लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन उनले आग्रहसमेत गरे ।
महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने उनको भनाइ छ । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गर्ने पनि उनले जानकारी दिए ।
