महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने महामन्त्री बुर्लाकोटीको भनाइ छ ।
काठमाडौँ — रास्वपाले आगामी महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ । बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका हुन् ।
महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने महामन्त्री बुर्लाकोटीको भनाइ छ । महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरूसँग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको पनि उनले बताए ।
केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको दाबी छ । क्याटरिङलगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उनको भनाइ छ ।
‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ । त्योमध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ । हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसँग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।
