ईभीएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाइ छ
काठमाडौँ — रास्वपाले महाधिवेशनमा निर्वाचन विद्युतीय भोटिङमार्फत गर्ने भएको छ । इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यसका लागि आवश्यक कोटेसन र सम्झौताको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।
ईभीएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने उनको भनाइ छ । परम्परागत विधिबाट दुई दिन लाग्ने प्रक्रिया छोटो समयमै सम्पन्न हुने र प्रतिनिधिहरूको बसाइ खर्चसमेत घट्ने भएकाले ईभीएम प्रयोग गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
सचिवालय बैठकमा पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि छलफल भएको छ । सचिवालयले केन्द्रीय समिति बढाउनेगरी प्रस्ताव तयार गरेको छ । हालको प्रस्तावअनुसार पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गर्ने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
