सरकारले संसद्को हुर्मत लिने काम गर्यो : सांसद शर्मा
काठमाडौँ — प्रतिपक्ष दल नेकपाका सांसद गोपाल शर्माले संसद्मा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गरे । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आफैं संसद्मा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि उनले राखे ।
'सरकारले संसद्को हुर्मत लिने काम गरी नै राखेको छ । हामीले प्रधानमन्त्रीको गलत अभिव्यक्ति सच्याउन भन्यौ । तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ, तपाईं संसदको रोस्ट्रममा आएर यो भनाइ सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ,' उनले भने ।
