उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूहरूले मन्त्रालयगत बजेटबारे सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उठेर श्रम संस्कृतिका सांसदले विरोध गरेका हुन् ।
काठमाडौँ — प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । बुधबार विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफल भइरहेका बेला उक्त पार्टीका अध्यक्ष हकराज राईसहितका सांसदहरूले वेल घेराउ गरेका हुन् ।
यता, सभामुख डोलप्रसाद अर्यालले भने सभामुखको आदेशबिना नै जथाभावी गरेको भन्दै उक्त पार्टीका सांसदलाई सचेत गराएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूहरूले मन्त्रालयगत बजेटबारे सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उठेर श्रम संस्कृतिका सांसदले विरोध गरेका थिए ।
सभामुखको बारम्बारको आग्रहपछि पनि नमानेपछि राईसहितका पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । ‘माननीय सदस्यहरू, सभामुखको आदेश पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुलाई सचेत गराउँदछु,’ उनले भने ।
प्रतिपक्ष दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै संसद्मा विरोध गर्दै आएका छन् ।
