सुकुमवासीहरूलाई तत्काल पुनर्बासको व्यवस्था गरियोस् : अध्यक्ष राई

अहिले कीर्तिपुरलगायतका होल्डिङ सेन्टरमा खाना, पानीको अभाव छ । उहाँहरू पनि नेपाली नागरिकहरू नै हुनुहुन्छ : राई

असार ३, २०८३

कान्तिपुर संवाददाता

Immediate arrangements should be made for resettlement of squatter residents: Chairman Rai

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुमवासीहरूलाई पुरानै ठाउँमा पुनर्बासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष राईले आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई राहत दिने र पुनर्बासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

'सुकुमवासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ । अहिले कीर्तिपुरलगायतका होल्डिङ सेन्टरमा खाना, पानीको अभाव छ । उहाँहरू पनि नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै । उहाँहरूले आन्दोलन गरिरहेका दृष्य हामीले देखिरहेका छौँ । त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण होस् । राहत दिने ठाउँमा राहत र व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवस्थित लाग्नुपर्दछ,' राईले भने ।  

यस पटकको सहर व्यवस्थापनलगायतका विषयमा बजेट छुटेको पनि उनको भनाइ छ । उनले अगाडि भने, 'मेरो माग के छ भने उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यही एउटा राम्रो सिटी प्लान गरेर पुनर्बास गराउँदा सरकारको नै वाहवाही हुने थियो ।' 

कान्तिपुर

Link copied successfully