निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे विराटनगरमा एमालेको सुझाव संकलन, एकतामा ओलीको जोड

एमाले अध्यक्ष ओलीले भर्चुअल सम्बोधनमा पार्टीलाई वैचारिक, संगठनात्मक र राजनीतिक रूपमा सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

असार २, २०८३

पर्वत पोर्तेल

UML gathers suggestions in Biratnagar on election review and party reorganization, Oli emphasizes unity

विराटनगर — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई वैचारिक, संगठनात्मक र राजनीतिक रूपमा थप एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने बताएका छन्।

एमाले केन्द्रीय कमिटीको आयोजना तथा प्रदेश कमिटीको व्यवस्थापनमा विराटनगरस्थित कञ्चनजंगा होटलमा म‌ंगलबारदेखि आयोजित ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन’ कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको आवश्यकता आपसी आरोप–प्रत्यारोप नभइ एकताबद्ध हुनुपर्ने भएको बताए ।  

उनले पार्टीभित्र कमजोर मनोवृत्ति र निराशा फैलाउन नहुने उल्लेख गर्दै सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए। 'आजको आवश्यकता आपसमा दन्तबझान वा आरोप–प्रत्यारोप गर्नु होइन, मिलेर अघि बढ्नु हो,' ओलीले भने, 'कमजोर मनस्थिति बनाउने वा हरेश खाने होइन, एकजुट भएर पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउनुपर्छ।'

अध्यक्ष ओलीले पार्टीको स्थायी कमिटीले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले निर्णय गरेको स्पष्ट पार्दै कसैलाई हटाउने वा निष्कासन गर्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारे । उनले आफूविरुद्ध हुने आलोचना र आरोप निराधार रहेको दाबी गर्दै विगतका राजनीतिक घटनाक्रम स्मरण गरे। 'मलाई १३ दिनसम्म हिरासतमा राखियो, तर कुनै मुद्दा पुष्टि हुन नसकेपछि छाड्नुपर्‍यो,' उनले भने।

दुई दिनसम्म चल्ने कार्यक्रममा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्कीलगायत केन्द्रीय तथा प्रदेश कमिटी सदस्यहरू सहभागी छन्। 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully