कन्टेन्ट निर्माण गर्ने र त्यसलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने प्लेटफर्मको उपयोगमा ग्याप रहेको महासचिव पोखरेलको भनाइ छ ।
काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गरेका छन् ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा केही पछि परेको उल्लेख गरे ।
‘पहिले हामी प्रचारको काममा प्रभावकारी थियौं, तर पछिल्लो समय प्रचारको काममा हामी अलिकति रक्षात्मक (डिफेन्सिभ) भएका छौँ । यसको कारण के हो भन्ने कुरा पनि स्पष्ट नै छ । खासगरी सूचना प्रविधिको जति विकास हुँदै गएको छ, सूचना प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्ने नयाँ पुस्ताको प्रभाव पनि त्यति नै बढ्दै गएको छ । नयाँ पुस्ताको सहभागिता हामीसँग तुलनात्मक रूपमा कम छ । जससँग त्यो पुस्ताको सहभागिता बढी छ, ऊ बढी प्रभावकारी छ। जससँग कम छ, ऊ कम प्रभावकारी छ,’ उनले भने ।
कन्टेन्ट निर्माण गर्ने र त्यसलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने प्लेटफर्मको उपयोगमा ग्याप रहेको महासचिव पोखरेलको भनाइ छ ।
'जसका हातमा लोकप्रिय प्लेटफर्महरू छन्, तिनकै माध्यमबाट धेरै सूचना र विचारहरू जनतासम्म पुगिरहेका छन् । त्यस अर्थमा सामग्री निर्माण गर्ने तथा लोकप्रिय प्लेटफर्महरूको अधिकतम उपयोग गर्ने क्षमता जसले विकास गर्नसक्छ, उसले नै आजको सूचना–सञ्चारको क्षेत्रमा, विशेष गरी सामाजिक सञ्जालमा, आफ्ना विचारहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गर्नसक्छ भन्ने मलाई लाग्छ,' उनले भने ।
