विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ : राई
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाएका हुन् ।
सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिलाई रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै उनले सभामुखबाट सो अभिव्यक्ति हटाउने आदेशको व्यग्र प्रतीक्षामा रहेको बताए ।
त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति उनले विरोध जनाए । माइतीघर मण्डलमा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोडारी र बिरजन विकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे ।
‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ,’ उनले भने । पीडित चालकलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत उनले माग गरे । सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुंगा प्रहार गर्ने जस्ता उच्छृंखल गतिविधि भइरहेको उल्लेख गर्दै उनले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको साटो त्रास महशुस गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरे ।
