गंगा दाहालले सरकारी छानबिनका लागि किन सहयोग गर्ने बताइन् ?

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल भन्छिन् : हामीमाथि शंका भए सरकारले जुनसुकै विषयमा छानबिन गर्न सक्छ । छानबिनका लागि सहयोग गर्न तयार छौं,’ उनले भनिन्, ‘तर बिना आधार हामीलाई बदनाम गराउन गलत प्रचारको विरोध र खण्डन गरेका छौं ।

जेष्ठ ३१, २०८३

गंगा बीसी, दया दुदराज

Why did Ganga Dahal say she would cooperate with the government investigation?

What you should know

काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालकी छोरी गंगाले शुक्रबार  सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू र आफ्नो परिवारबिरुद्ध ‘मिडिया ट्रायल’ भएको भन्दै आपत्ति जनाइन् । उनले राजनीतिक पूर्वाग्रह राखेर बदनाम गर्ने काम भइरहेको उल्लेख गर्दै कारबाहीका लागि सरकारलाई आग्रह गरेकी छन् ।

‘विगत केही दिनदेखि म र मेरो परिवारविरुद्ध योजनाबद्ध रूपमा चलाइएको मिडिया ट्रायलप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारलाई म पूर्ण रूपमा खारेज गर्दछु। राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ ?’ उनले भनेकी छन्, ‘म नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छु। साथै, यस्ता दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दछ ।’

संयोजक दाहाल र गंगामाथि छानबिन भइरहेकाले ‘विदेश भाग्न लागेको’ सामग्री प्रकाशित भएपछि उनले सरकारले गर्ने जुनसुकै छानबिन वा अनुसन्धानका लागि सघाउने बताएकी थिइन् ।

‘नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि हामी पूर्ण रूपमा सरकारलाई सहयोग गर्न प्रतिबद्ध छौं। हेक्का रहोस्, सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन,’ उनले लेखेकी छन् ।

उनले ‘भाइ प्रकाशको असामयिक निधनपछि पार्टीकै निर्णयबमोजिम नेतृत्वलाई सहयोग गर्दै आएको र व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी मैले आफनो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएको’ बताएकी छन् । उनले पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले हाम्रा विरुद्ध चलाइएको मिडिया ट्रायलको सशक्त प्रतिवाद गर्नसमेत आग्रह गरेकी छन् ।

कान्तिपुरसँग भएको कुराकानीमा उनले भदौ २४ मा आगजनीबाट आफ्नो घर घरानी भएको उल्लेख गर्दै पार्टी र नेतृत्वलाई बदनाम गराउने प्रयास भएको बताए । ‘हामीमाथि शंका भए सरकारले जुनसुकै विषयमा छानबिन गर्न सक्छ । छानबिनका लागि सहयोग गर्न तयार छौं,’ उनले  भनिन्, ‘तर बिना आधार हामीलाई बदनाम गराउन गलत प्रचारको विरोध र खण्डन गरेका छौं ।’  

उनले राज्यका कुनै पनि निकायले अनुसन्धान नगरेको दाबी गरिन् । ‘राज्यका कुनै पनि निकायले छानबिन गरेको छैन,’ उनले भनिन्, ‘तर म र हाम्रो परिवारलाई बदनाम गराउने षडयन्त्र गर्ने प्रयास भएको छ ।’

कुन मिडियामा के लेखिएको थियो ?

गत जेठ २८ गते ११ बजेर ५ मिनेटमा ‘आजको अर्थ डटकम’बाट समाचार प्रकाशित भएको देखिन्छ । ‘विदेश पलायनको तयारीमा प्रचण्डपुत्री गंगा दाहाल’ शीर्षकको उक्त समाचारमा स्रोतको हवाला दिँदै, विदेश पलायनको तयारीमा रहेको दाबी गरिएको छ ।  

‘प्रचण्ड निकट स्रोतका अनुसार, अधिकारीले गंगा दाहाललाई पक्राउ गर्न सकिने अवस्था देखिएकाले केही प्रहरी अधिकारीहरूले नै उनलाई ‘यो आाधीबाट बच्न सक्नुहुन्छ भने विदेश जानुहोस्’ भन्ने प्रकारको सल्लाह दिएको दाबी गरेका छन् । गंगा दाहालमाथि अकुत सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको आरोप छ,’ समाचारमा लेखिएको छ । 

समाचारमा गंगा दाहालका परिवार सबैले चीनको भिसा लिने तयारी थालेको दाबी गरिएको छ ।  ‘चीन पुगेपछि त्यहाँबाट अन्य मुलुकतर्फ जाने योजना बनाइएको बुझिएको छ । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको विदेश बसाइको प्रसंग उल्लेख गर्दै हङकङ र सिंगापुरसम्म पुग्दा विदेशमा बसेर  मुभ गर्न सजिलो हुने केही दिन अघिको हिमालयन होटेलमा केही व्यपारीसँगको बसाइमा तर्क गरेका थिए,’ समाचारमा उल्लेख छ । 

सोही समाचार साभार गर्दै सिन्धुली सौगात डटकमले पनि समाचार प्रकाशित गरेको छ । सिन्धुली सौगातले समाचार हुबहु सारेको छ । समाचार पोर्टलसागै सामाजिक सञ्जालले पनि समाचार कपि गरेर सेयर गरेको छ । ८३ हजार फलोअर्स भएको ‘डिजिटल भिजन’ नामक फेसबुक पेजबाट शनिबार बिहान १० बजेर ६ मिनेटमा आजको अर्थबाट साभार भन्दै समाचार पोस्ट गरेको छ । 

८४ हजार फलोअर भएको ‘इन्द्रेणी टाइम्स’ले पनि शनिबार मध्यरात १२ बजेर ४९ मिनेटमा पोस्ट गरेको छ । ‘नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल विदेश पलायनको तयारीमा रहेको दाबी गरिएको छ। स्रोतका अनुसार अकुत सम्पत्ति आर्जनको आरोप लागेकी दाहाल प्रहरीको खोजीमा परेपछि प्रचण्डका घरबेटी शारदा अधिकारी र केही प्रहरी अधिकारीकै सल्लाहमा विदेश जाने तयारी भएको हो,’ इन्द्रेणी टाइम्सको पोस्टमा लेखिएको छ, ’अधिकारीले गंगा दाहाल, उनका श्रीमान् जीवन आचार्य र स्मिता प्रधानको चीनको भिसा तयारी गरिदिएको र त्यहाँबाट हङकङ वा सिंगापुरतर्फ लाग्ने योजना बनेको व्यापारीहरूसँगको जमघटमा खुलासा गरेका हुन् ।’

त्यस्तै एआई जेनेरेटेड तस्बिर प्रयोग गरेर पनि पोस्ट गरिएको छ । ‘रवि लामिछाने समर्थक’ पेजमा शनिबार मध्यरात १ बजेर ४८ मिनेटमा पोस्ट भएको एउटा तस्बिरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल जस्तो देखिने व्यक्तिले गंगा दाहाल जस्तै देखिने व्यत्तिलाई खादा लगाउँदै गरेको देखिन्छ । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘पक्राउको डरपछि गंगा दाहाल विदेश पलायनको तयारीमा? चीनको भिसादेखि अन्य मुलुक जाने योजनासम्मको दाबीले राजनीतिक वृत्तमा तरंग ।’

यसैगरी अन्य विभिन्न पेज र अकाउन्टहरूबाट समेत यो समाचार पोस्ट भएको छ ।

गंगा

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully