ओलीले आफ्नै नेताहरूले नै पार्टी फुटाउन सक्ने बताएपछि एमालेमा तरंग, कारबाही गर्ने ओलीको धम्कीपछि असन्तुष्टि झन् बढ्यो
What you should know
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बेलुका आफ्नो निवास गुन्डुमा बाग्मती प्रदेशका नेतालाई बोलाएर पार्टी फुटाउने षड्यन्त्र भइरहेको बताए । पार्टीभित्रैबाट पनि पार्टी फुटाउने सक्ने भन्दै सचेत रहन नेताहरूलाई आग्रह गरे ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायतले नेतृत्व पुनर्गठनको मागमा पार्टी विभाजनकारी षड्यन्त्र रहेको बताएका थिए । विगतमा आफूसँगै उभिएका पौडेल र पोखरेल पुनर्गठनको पक्षमा लागेपछि ओली आक्रोशित छन् ।
शनिबार ओली निवास पुगेका एक नेताले पार्टीभित्र र बाहिरबाट पार्टी विभाजनका लागि षड्यन्त्र भइरहेको ओलीले स्पष्ट रूपमा बताएका थिए । ‘अध्यक्षले अहिले नेतृत्व पुनर्गठनको माग गर्नु जेस्टिफिकेसन हुनुपर्छ भन्नुभयो । अहिले पुनर्गठनको माग गरेर विष्णु पौडेल र शंकर पोखरेलले पार्टी विभाजनका लागि भूमिका खेल्न सक्छन् भन्नुभएको हो,’ ती नेताले भने । ओलीले विदेशी शक्तिहरू एमाले कमजोर बनाउन लागिरहेका बेला पार्टीभित्र पनि त्यस्तो चलखेल भइरहेको आरोप लगाए ।
पौडेल र पोखरेलले पार्टी विभाजन गर्न सक्ने संकेत गरेपछि आइतबार एमाले पंक्तिमा तरंग उत्पन्न भएको छ । ओली आफैंले दुई नेताको नाम लिएर ‘गम्भीर आरोप’ लगाएपछि एमालेमा अन्तरसंघर्ष चर्किने संकेत देखिएको छ ।
बागमती प्रदेशका नेता र ओलीबीच गुन्डुमा छलफल भइरहेका बेला शनिबार बेलुका उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनको अभिभारा पूरा गर्ने भनाइ सार्वजनिक गरे । 'जरूर हामी कमरेडहरूले अपेक्षा गर्नु भएअनुरूप नै आम निर्वाचन- २०८२ को वस्तुनिष्ठ समीक्षा गर्न र नेकपा (एमाले)को गुमेको जनमत र प्रतिष्ठा पुनस्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौं,' उनले फेसबुक पेजमा लेखेका छन् ।
ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिए । ‘विधि, पद्धतिबाट म नेतृत्वमा आएको हो । विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ । अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्,’ उनले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘पार्टी कमजोर बनाउने गतिविधि कसैले गर्नु हुँदैन ।’
ओलीलाई भेट्न काठमाडौं, लतिलपुर भक्तपुरबाहेक जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुन्डु पुगेका थिए । यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन् चुलिएको छ । जेठ २० मा काठमाडौंमा भएको कार्यशालामा उनले नेतृत्व पुनर्गठनको विषयमा आवाज उठाए सह्य नहुने बताएका थिए ।
नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले छलफल सुरू गरेपछि ओलीले कारबाहीको चेतावनी दिएका थिए ।
‘विधि उल्लंघन गरे विधानबमोजिम कारबाही हुन्छ,’ उनको भनाइ थियो, ‘यस्तो परिस्थितिमा जे पनि गर्न टोलरेट हुन सक्दैन । पार्टीका विधिविधान छाडेर हस्ताक्षर गर्न कुद्ने, भ्रम फैलाउन कुद्ने ?,’ उनको आक्रोश थियो, ‘यस्ता क्रियाकलापले भ्रम फैलाउँछ ।’
संगठन विभागले आयोजना गरेको कार्यशालामा ओली आफूले नेतृत्व नछाड्ने दाबी गर्दै नेतृत्व छाड्ने मागलाई निस्तेज पार्ने प्रयास गरेका थिए ।
‘मलाई गत पुसमा महाधिवेशनबाट अध्यक्षमा छान्नु भएको थियो । सजिलो पर्यो भने प्रधानमन्त्री खानू, अप्ठ्यारो पर्यो भने झोला फ्याँकेर भाग्न होइन । जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु भनेर अध्यक्ष छानेको हो । आशंका हुन सक्छ- बीचमै झोला फ्याँकेर अलपत्र पारेर हिँड्छ कि भन्ने आशंका नलिनुहोला । पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपरे विधिसम्मत तरिकाले लिने हुन्छ,’ उनले भनेका थिए ।
फागुनको प्रतिनिधिसभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली भएको निष्कर्ष निकाल्दै महासचिव र उपाध्यक्षलगायतका नेताहरूले ‘सम्मानजनक’ रूपमा बाटो खुला गर्ने आग्रह गरेका थिए । तर ओलीले त्यसलाई ठाडै अस्वीकार गरेको पदाधिकारीले बताए ।
‘चुनावलगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक भएको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिनुभएको थियो,’ पोखरेलनिकट एक नेताले भने, ‘त्यसपछि ओलीले झन् अनुदार बाटो लिन खोज्नु भएको छ । नेतृत्व पुनर्गठनको माग गर्ने नेतालाई कारबाही गर्ने चेतावनी दिन थाल्नु भएको छ ।’
चुनावी हारको कारणबारे प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य छन् । कार्यदलमा प्रदेश इन्चार्जहरू शेरधन राई, लीलानाथ श्रेष्ठ, महेश बस्नेत, राजन भट्टराई, खगराज भट्टराई, यामलाल कँडेल र दामोदर भण्डारी कार्यदलमा छन् ।
कार्यदलले पार्टीले चुनाव हार्नुको कारण र पार्टी नीति र नेतृत्व पुनर्गठनबारे प्रदेश, संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव लिने तयारी गरेको छ । जेठ ३० देखि असार १९ सम्म सातै प्रदेशमा भेला गरी सुझाव लिएर प्रतिवेदन तयार गर्ने गरिनेछ ।
ओलीले जेठ २० को काठमाडौं भेलामा आएका नेता तथा कार्यकर्तालाई आफ्नो निवास गुन्डुमा छुट्टाछुट्टै भेटेर नेतृत्व पुनर्गठन गर्ने बेला नभएको भन्दै फकाउने प्रयास गरेका थिए । ओलीले उपाध्यक्ष थापाको नेतृत्वको कार्यदलले बनाउने प्रतिवेदन आफूअनुकूल बनाउन चाहेका छन् । ओलीले जिल्ला र प्रदेशबाट आएका नेताहरूलाई ‘अध्यक्ष’ कै कारण निर्वाचनमा हार नभएको प्रतिवेदन आओस् भन्ने चाहेको एक नेताले बताए ।
‘केपी ओलीले आफ्नो कारणले मात्र चुनाव हारेको नभई सिंगो पार्टी नेतृत्व जिम्मेवार रहेको प्रतिवेदन बनाउन चाहनुभएको छ । तर कार्यदलका संयोजक थापा, सचिब अर्याल र ढकाल ओलीको पक्षमा देखिनुहुन्छ,’ ती नेताले भने ।
जेठ २० मा ओलीले कारबाही धम्की दिएपछि पार्टीभित्र झन् असन्तुष्टि बढाएको नेताहरुको भनाइ छ । ‘ओलीले गुन्डुमा बोलाएर नेताहरूलाई आफ्नो विकल्प नभएको भनेर विश्वस्त बनाउन खोज्नु भयो । तर नेताहरू कन्भिन्स भएको पाइएन,’ ती नेताले भने ।
केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टी नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिj शंकर पोखरेललगायतले गृहकार्य गरिरहेको बताए । ‘काठमाडौंको भेलामा अध्यक्ष ओलीले मन जित्न सक्नु भएन । झन् असन्तुष्टि बढेको छ,’ उनले भने, ‘उपाध्यक्ष बिष्णु र महासचिव पोखरेल प्रस्ट रूपमा पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको छ ।’
केन्द्रीय सस्य रचना खड्काले ‘सम्मानजनक’ हिसाबले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा अध्यक्ष ओलीबाहेकका पदाधिकारीले महसुस गरेको बताइन् । निर्वाचनअघि नेतृत्वमा यो महसुस भएको निर्वाचन परिणाम सुधार गर्न सकिने आधार देखिएको बताइन् ।
‘पछिल्लो सचिवालय बैठकको सन्देश हेर्दा अध्यक्षबाहेक अरू पदाधिकारीलाईलाई महसुस भएको छ । अध्यक्ष ओलीको दम्भविरुद्ध पार्टीले विजय गर्नुपर्छ भनेर पुनर्गठनको मुद्दा उठेको हो,’ उनले भनिन्, ‘अब पनि पार्टी नबाउने हो भने पुनर्गठन हो । एउटा व्यक्तिले पार्टीमा आगो लगाएपछि अरूले निभाउनु कर्तव्य हो ।’
प्रचार विभाग प्रमुख निरज आचार्यले निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिबारे प्रदेशहरूबाट आउने सुझाव र कार्यदलले निर्माण गर्ने प्रतिवेदनका आधारमा अगामी कार्यक्रम बन्ने बताए । ‘चुनावको परिणाम र आगामी नीतिबारे आउने सुझाव र कार्यदलको प्रतिवेदनका आधारमा पार्टी अघि बढ्ने छ,’ उनले भने ।
प्रतिवेदन आएपछि बोलाउने केन्द्रीय समिति बैठकले नेतृत्व पुनर्गठन सम्बन्धमा छलफल गर्ने छ । २०८२ पुसमा ११औं महाधिवेशन भएकाले तत्काल विशेष महाधिवेशन बोलाउने पक्षमा ओली छैनन् । बहुमत पदाधिकारीले ओलीले ‘स्वेच्छिक रूपमा नेतृत्व छाडेर अभिभावक बन्नुपर्ने’ सुझाव दिए पनि ओलीले अस्वीकार गरेका छन् ।
जेठ २० र २२ को कार्यशालामा महासचिब पोखरेलले ‘माथिको प्रभावमा नपरेर सुझाव दिन’ आग्रह गरेका थिए । उपाध्यक्ष विष्णु पौडेलले ओलीप्रति संकेत गदै सैनिक पार्टी होइन, विविधतामा एकता हुनुपर्ने बताएका थिए ।
‘पार्टीमा विविधतामा एकता हुनुपर्छ । एकरुपतामा एकता होइन । यसप्रकारले निर्देशित भएर अघि बढनुपर्छ,’ उनले भने, ‘एकरूपतामा एकता खोज्ने दार्शनिक रुपमा पनि गतल छ । व्यक्तिका विभिन्न विचारमा छलफल गरेर साझा निष्कर्ष पुग्न सक्छौं,’ उनको भनाइ थिया ।
कार्यशालामा महासचिव पोखरेलले ‘जनसम्बन्ध विकास र पार्टी रूपान्तरणका आधारहरू’ भन्दै ‘गम्भीर आत्मसमीक्षा र रूपान्तरणको दृढ संकल्प’ गर्नुपर्ने बताएका थिए । उनले पार्टी जीवनको लोकतान्त्रिक मूल्य मान्यतामा जोड दिएका थिए । एमालेभित्र कमिटी प्रणाली कमजोर भएको, पार्टी जीवनमा लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण गर्नुपर्ने, नीति र नेतृत्व स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजी आवश्यक रहेको बताएका थिए ।
‘रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार नै हो। एकता, अनुशासन र विधिसम्मत प्रणालीको अनुशरण गर्दै संस्थागत बाटोबाट नै यी उद्देश्य पूरा गर्न सकिन्छ,’ उनको भनाइ थियो । पोखरेलको यी भनाइले उनी पार्टी नीति र नेतृत्व पुनर्गठनको पक्षमा रहेको स्पष्ट गरेको छ ।
