एकताका लागि संस्थापन पक्षले पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक

‘सबै सँगै बढौं यसरी’ शीर्षकमा तयार पारिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएका विवादलाई थाती राख्दै १५औँ महाधिवेशनसम्म सहमति, सहकार्य र एकताका साथ अघि बढ्न आग्रह गरिएको छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

7-point proposal sent by the establishment party for unity made public

काठमाडौँ — कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम गर्न असन्तुष्ट पक्षका नेताहरूलाई पठाइएको सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । जेठ १६ गते व्हाट्सएपमार्फत् पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि शर्माले जेठ ३१ गते सार्वजनिक गरेका हुन् ।

‘सबै सँगै बढौं यसरी’ शीर्षकमा तयार पारिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएका विवादलाई थाती राख्दै १५औँ महाधिवेशनसम्म सहमति, सहकार्य र एकताका साथ अघि बढ्न आग्रह गरिएको छ ।

प्रस्तावको पहिलो बुँदामा विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक तथा सर्वोच्च अदालतको अन्तिम निर्णयलाई स्वीकार गर्दै विवादका विषयलाई बिर्सेर एकताबद्ध रूपमा अघि बढ्ने उल्लेख छ । यद्यपि विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रतिको असहमतिलाई १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक एजेन्डाका रूपमा उठाउन सकिने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, विशेष महाधिवेशनमा सहभागी भए वा नभएको आधारमा कुनै सदस्यलाई विभेदपूर्ण व्यवहार नगर्ने, क्रियाशील सदस्यता अद्यावधिक निर्धारित समयभित्र सम्पन्न गर्ने तथा त्यससम्बन्धी अस्पष्टता स्पष्ट पारेर अघि बढ्ने प्रस्तावमा उल्लेख छ ।

संस्थापन पक्षले अग्रज नेताहरूलाई ‘वरिष्ठ नेता’ का रूपमा सम्मानजनक भूमिका दिने, केन्द्रीय समितिमा रहेका वा नरहेका नेताहरूलाई जिम्मेवारीमा समेट्ने तथा कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता सुनिश्चित गर्ने प्रस्ताव पनि गरेको छ ।

यस्तै, १५औं महाधिवेशनका लागि गठन हुने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने, महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने तथा भ्रातृ र शुभेच्छुक संस्थाहरूमा योग्यता र चाहनाअनुसार जिम्मेवारी प्रदान गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ ।

कान्तिपुर

Link copied successfully