प्रतिष्ठानको शुक्रबार सम्पन्न चौथो बैठकले उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा उपसमितिहरू गठन गर्दै संयोजकहरू चयन गरेको हो ।
काठमाडौँ — कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत तथा सचेतनामूलक विषयमा काम गर्न पाँच वटा विषयगत उपसमिति गठन गरेको छ।
प्रतिष्ठानको शुक्रबार सम्पन्न चौथो बैठकले उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा उपसमितिहरू गठन गर्दै संयोजकहरू चयन गरेको हो ।
बैठकले डायस्पोरा डाइलग उपसमितिको संयोजकमा यादव पण्डितलाई चयन गरेको छ। उक्त उपसमितिले नागरिकता, लगानी र मतदान अधिकारका विषयमा जनसम्पर्क समितिको पदीय संरचनाबाहिर रहेका नेपाली समुदायसँग नीति संवाद र समन्वय गर्नेछ।
यस्तै स्वास्थ्य बिमा तथा सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा अञ्जनीकुमार झा, घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृति पौडेल, सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी तथा खेलकुद नीति संवाद उपसमितिको संयोजकमा विनोद दास चयन भएका छन्।
प्रतिष्ठानले उपसमितिमार्फत समसामयिक सार्वजनिक नीतिका विषयमा अध्ययन, अनुसन्धान, संवाद तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाएको छ ।
