सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छ : रास्वपा सांसद आचार्य

यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दा जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ : सांसद आचार्य

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

The tradition of MPs speaking and not listening to the government must end: RSP MP Acharya

काठमाडौँ — रास्वपा सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्परारको अन्त्य हुनुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसद आचार्यले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टि जनाउँदै ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरेका हुन् ।

‘यदि यो शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यन्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होईन पूर्ण समय भनौँ । यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दा जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ,’ उनले भने । 

शून्य समयमा उठेका विषय अभिलेखमा मात्रै सीमित नगर्न पनि सांसद आचार्यले आग्रह गरे । 'ती विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यन्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस् । सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ । यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ,' उनले भने । 

बैठकमा उनले शून्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully