११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक २ बजेलाई सारियो

बिहान बोलाइएको बैठक २ घण्टासम्म पनि बस्न नसकेपछि दिउँसो २ बजेका लागि सारिएको हो ।

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

The House of Representatives meeting called for 11 am has been postponed to 2 pm.

काठमाडौँ — बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको छ । बिहान बोलाइएको बैठक २ घण्टासम्म पनि बस्न नसकेपछि दिउँसो २ बजेका लागि सारिएको हो । 

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ बजे बस्नेगरी निर्धारण गर्नुभएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ । 

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाइरहेका छन् । उनीहरूले प्रधानमन्त्रीबाट उक्त भनाइको प्रष्टिकरण संसदमा नै आउनुपर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ को बैठकमा भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'

विपक्षी दलहरूले भने नेपालले भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्तिमा प्रष्टिकरण माग गर्दै त्यसयताका बैठक अवरुद्ध गर्दै आएका छन् । प्रधानमन्त्रीले हालसम्म प्रतिनिधिसभामा जवाफ दिएका छैनन् । 

कान्तिपुर

Link copied successfully