राप्रपाभन्दा ठूलो दल श्रम संस्कृतिलाई दलीय हैसियत अनुसार बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका थिए ।
काठमाडौँ — प्रतिनिधिसभामा श्रम संस्कृति पार्टी 'वेल' घेराउमा उत्रिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रम संस्कर्ति पार्टीका अध्यक्ष हर्कराज राईले आफूलाई बोल्न समय नदिएको भन्दै वेल घेराउ र नाराबाजीमा उत्रिएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राजनीतिक दलका नेताहरूले बोल्ने क्रममा आफूलाई समय नदिएको भन्दै साम्पाङले विरोध जनाएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका प्रमेश हमाल र राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बोलेका थिए ।
राप्रपाभन्दा ठूलो दल श्रम संस्कृतिलाई दलीय हैसियतअनुसार बोल्न समय नदिएको भन्दै राईले आपत्ति जनाएका थिए । सभामुखले भने आफूलाई श्रम संस्कृतिको तर्फबाट को सांसद बोल्ने भनी नाम नआएकाले समय नदिएको जवाफ दिएका थिए ।
श्रम संस्कृतिका सांसदले आपत्ति जनाइरहँदा सभामुखले 'समय दिन्नँ' भनी संसदको कारबाही अगाडि बढाएपछि अध्यक्ष राईसहितका सांसद वेल घेराउमा उत्रिएका हुन् ।
उनीहरूले विभेदको अन्त्य गर, जिम्मेवारी बहन गर, संसद्को मर्यादा कायम गर लगायतका नारा लगाइरहेका छन् । उनीहरूले संविधान र प्रतिनिधिसभा नियमावली हातमा लिएर नारा लगाइरहेका छन् ।
