प्रधानमन्त्री शाहका सीमा सम्बन्धी भनाइपछि रोकिएको बैठक बुधबार परराष्ट्रमन्त्रीद्वारा स्पष्टीकरण दिने सहमतिसँगै खुल्यो ।
काठमाडौँ — करिब १ साताको गतिरोधपछि प्रतिनिधिसभा बैठक सुरू भएको छ । प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्तिका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार भने सञ्चालनमा आएको हो ।
बुधबार बिहान ११ बजे बैठक बोलाइए पनि सहमतिका लागि भन्दै सभामुख डीपी अर्यालले २ बजेका लागि सारेका थिए । यद्यपि बैठक भने सवा ३ बजे सुरू भएको हो । यद्यपि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भने प्रधानमन्त्रीले नै आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरु केही होइन । उहाँ यहाँ आउँदै नआउने, अरु कसैले स्पष्टिकरण दिनेकुरा न्यायसंगत छैन, संविधानसम्मत छैन । उहाँको आफ्नो धारणा के हो त ? उहाँले यहाँ बोल्न आउनुभएन भने लिखत रुपमा धारणा पठाउनुपर्यो । नत्र एउटाले गल्ति गर्छ अर्कोले सच्याउने कुरामा हामी सहमत छैनौँ,’ उनले भने ।
प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिपछि जेठ १९ यता प्रतिनिधिसभा बैठक अवरुद्ध थियो ।
सभामुख डीपी अर्याल संसद्को अवरोध खुलाउनका लागि सभामुख डीपी अर्याल विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । सभामुख अर्यालले बुधबार प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका सांसद वर्षमान पुन, विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग आफ्नो कार्यकक्षमा छलफल गरेका हुन् ।
छलफलमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ मा सीमा सम्बन्धमा दिएको विवादबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पार्नेगरी दलहरूबीच सहमति भएको हो । कांग्रेस, नेकपा, राप्रपालगायतका दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनेबारे लचक देखिएका हुन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ को बैठकमा भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'
