रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा संसदको अवरोध खुलाउनेबारे सहमति नजुटेपछि विपक्षी दलहरूबीच छलफल भइरहेको एमाले मुख्य सचेतक ऐनबहादुर महरको भनाइ ।
What you should know
काठमाडौँ — संसदको अवरोध खुलाउनका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ मा संसद्मा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।
सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर आफ्ना धारणा राख्नुपर्ने माग राखेका थिए । 'प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा बोल्न सक्नुहुन्न भन्ने उहाँहरूको कुरा छ । हामीले प्रधानमन्त्री आफू आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरेका छौं,' एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने, 'उहाँहरू टसमस हुनुभएको छैन । सभापति लामिछानेसँगको छलफलपछि कसरी अगाडि बढ्ने भनेर विपक्षी दलहरू सल्लाहमा छौं ।'
रास्वपा सचेतक क्रान्तिशिखा धितालले भने सहमतिको सम्भावना प्रबल रहेको बताइन् । सभापतिले विपक्षी दलहरूसँग छलफल गरेपछि आजै सहमति भएर सदन खुल्ने सम्भावना रहेको उनको भनाइ छ । 'सत्तापक्ष र विपक्षी छलफलमा नै छौं । सहमति नजिक पुग्ने सम्भावना छ,' उनले भनिन्, 'विपक्षी दलहरूले प्रधानमन्त्रीको स्टेटमेन्ट आउनुपर्छ भन्नुभएको छ ।'
रास्वपाले भने परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले बोलेको विषयमा संसदमा सरकारको तर्फबाट धारणा राख्न पाउनुपर्ने बताएको छ । 'परराष्ट्रमन्त्रीले संसदमा बोल्नुहुन्छ । त्यस क्रममा सरकारको तर्फबाट के-के भन्नुहुन्छ त्यो सुनेपछि पनि कन्भिन्स हुनुभएन भने अर्को चरणमा जाउँला भन्ने हाम्रो कुरा छ,' धितालले भनिन् ।
प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ' भनेको विषयले विवाद निम्त्याएको हो । जेठ १९ यताका प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध हुँदै आएका छन् । प्रधानमन्त्रीले हालसम्म उक्त विषयमा संसदमा आएर बोल्ने तयारी गरेका छैनन् भने विपक्षी दलहरूले प्रधानमन्त्रीले नै आउनुपर्ने र आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने अडान राख्दै आएका छन् ।
प्रतिनिधिसभाको ११ बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । सभामुख डीपी अर्यालको निर्देशनमा महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसेका हुन् ।
