परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रधानमन्त्री शाहले जेठ १७ गते दिएको अभिव्यक्ति क्रसबोर्डर अकुपेसन र दशगजा क्षेत्रमा भएको अतिक्रमणसँग सम्बन्धित रहेको दाबी गरे ।
काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा दिएको अभिव्यक्ति क्रसबोर्डर अकुपेसन अर्थात 'सीमा वारपारको जग्गा भोगाधिकार' र दशगजा क्षेत्र अतिक्रमितबारे सम्बन्धित भएको स्पष्ट पारेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइको स्पष्टीकरण दिएका हुन् । यसबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको पनि उनले बताए ।
परराष्ट्रमन्त्री खनालले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत म्यापिङको काम गरिरहेको समेत जानकारी दिए । उनले सीमासम्बन्धी विस्तृत विवरण नक्सांकन सम्पन्न भएपछि सार्वजनिक हुने समेत बताए ।
‘सम्माननीय प्रधानमन्त्रीज्युले संसद्मा राख्नुभएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ यही क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ । यसमा यसमा मूल प्रश्न भनेको सीमा विवाद कसरी निरुपण गर्ने भन्ने नै हो । नेपाल–भारत सीमा द्विपक्षीय विषय हो । र नेपाल तथा भारतबीच रहेको घनिष्ट सम्बन्धको मर्म भावनाअनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साको आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वातामार्फत गर्न नेपाल प्रतिबद्ध छ,’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद हलका लागि तेस्रो पक्षको मध्यस्थता नखोजेको पनि प्रस्ट पारे । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ को बैठकमा भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'
प्रधानमन्त्री शाहले विवादास्पद अभिव्यक्ति दिएकै दिन परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले संसद्मा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र 'क्रस बोर्डर अकुपेसन' अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित रहेको दाबी गरेका थिए ।
