प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिमा प्रस्टीकरण माग गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेका छन् ।
काठमाडौँ — प्रतिनिधिसभाको बैठक स्थगित गरिएको । मंगलबार १ बजे सुरु भएको बैठक विपक्षी दलहरूले विरोधलाई निरन्तरता दिएपछि स्थगित गरिएको हो ।
सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकको अर्को समय बुधबार ११ बजेका लागि तय गरेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाइरहेका छन् । उनीहरूले प्रधानमन्त्रीबाट उक्त भनाइको प्रष्टिकरण संसदमा नै आउनुपर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ को बैठकमा भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'
विपक्षी दलहरूले भने नेपालले भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्तिमा प्रष्टिकरण माग गर्दै त्यसयताका बैठक अवरुद्ध गर्दै आएका छन् । प्रधानमन्त्रीले हालसम्म प्रतिनिधिसभामा जवाफ दिएका छैनन् । सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यकता परेमा प्रधानमन्त्री शाह संसदमा जवाफ दिन तयार रहेको बताएका छन् । मन्त्रीपरिषद्को मंगलबारको बैठकपछि प्रवक्ता पोखरेलले उक्त जवाफ दिएका हुन् ।
