कांग्रेस, एमाले, नेकपा र जसपामा सदस्यता नवीकरण अपेक्षाकृत कम । नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि बढ्दा संगठन विस्तारमा चुनौती ।
What you should know
काठमाडौं — कांग्रेस, एमाले, नेकपा र जनता समाजवादीले सदस्यता नवीकरण र नयाँ सदस्य थप्न कसरत सुरु गरेका छन् । जेन-जी आन्दोलनपछि आलोचनाको निशानामा परेका यी दलका सक्रिय सदस्यहरू निष्क्रिय हुन थालेपछि उनीहरू सामु चुनौती थपिएको छ ।
गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विशाल जनमतले पुराना दलका कार्यकर्ता निष्क्रिय बनेको मात्रै देखाएको छैन ती दलको नीति र कार्यशैलीमाथि पनि प्रश्न उठेका छन् ।
कांग्रेसमा आधाले मात्रै गरै सदस्यता नवीकरणमा
पुस अन्तिम साता भएको विशेष महाधिवेशनले नेतृत्वमा गगन थापालाई चयन गरेपछि 'बदलिएको कांग्रेस'को रूपमा परिभाषित गरियो । थापाको नेतृत्वमा चुनावमा होमिएको ‘नयाँ कांग्रेस'ले अपेक्षित नतिजा ल्याउन सकेन । प्रतिनिधिसभामा ३८ सिटका साथ प्रमुख प्रतिपक्षको रूपमा रहेको कांग्रेस यतिबेला संगठनलाई गति दिने अभियानमा लागेको छ ।
गत साता सातै प्रदेशमा प्रदेश, जिल्ला नेता र स्थानीय प्रतिनिधिहरूसँग अन्तर्क्रिया सकेको कांग्रेसले डिजिटल माध्यमबाट क्रियाशील सदस्यता नवीकरण आह्वान गरेको छ । तर, अपेक्षित रूपमा सदस्यता नवीकरण भएको छैन । पूर्वसभापति शेरबहादुर देउवा पक्षका सदस्यहरूको अरुचिको केही प्रभाव सदस्यता नवीकरणमा देखिएको नेताहरूको भनाइ छ । यसका साथै जेन-जी आन्दोलन हुनुमा तत्कालीन कांग्रेस एमाले गठबन्धन सरकार जिम्मेवारी रहेकाले युवा सदस्यहरू आकर्षित हुन नसकेको कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।
आइतबारसम्म ४ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै नवीकरण गरेको तथ्यांक छन् । सदस्यता नवीकरण गर्ने समय जेठ २८ सम्म बढाइएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले तोकिएको समयभित्र अपेक्षा गरेअनुसार सदस्यता नवीकरण हुने विश्वास व्यक्त गरे । ‘डिजिटल प्लेटफर्म तयार गरी एक महिनाको अवधिमा पौने ५ लाख क्रियाशील सदस्यले नवीकरण गर्नु कमजोर संख्या भन्न मिल्दैन’ उनले भने, ‘जेठ ८ सम्म उत्साहजनक रूपमा क्रियाशील सदस्यले नवीकरण गर्नुहुनेछ ।’
उनले पार्टीभित्रबाटै सदस्यता नवीकरण नगर्न भनिएको बताए । ‘कांग्रेसको हित चाहने जोकोहीले सदस्यता नवीकरण नगर भन्न मिल्छ ? तर, कतिपय पुराना क्रियाशील सदस्यहरू निष्क्रिय भएको, केहीको मृत्यु भएको हुन सक्छ,’ उनले भने, ‘जेठ २८ मा साँच्चिकै कांग्रेसका लागि क्रियाशील हुने सदस्यहरूको विवरण आउने छ ।’
२०७८ मा भएको १४औं महाधिवेशनमा ८ लाख ५० हजार क्रियाशील सदस्य थिए । गत १० पुससम्म चलाइएको अभियानका क्रममा ४ लाख ५० हजारले नवीकरण र १ लाख ५० हजारले नयाँ सदस्यता लिएका थिए । तिनैको विवरण अद्यावधिक गर्न कांग्रेसले १ वैशाखदेखि जरा अभियान चलाएको थियो ।
महामन्त्री पौडेलले सदस्यता नवीकरण गरेका सदस्यहरूको विवरण आएपछि आगामी कार्यक्रम तय हुने बताए । ‘सक्रिय सदस्यहरू साँच्चिकै पार्टी निर्माणका लागि सक्रिय गराउने नीति बन्ने छ,’ उनले भने ।
संस्थापन इतरका नेता मीन विश्वकर्माले पार्टी एकता नभएकाले सक्रिय सदस्य संख्या नवीकरणमा समस्या आएको बताए । ‘हामी पार्टी मिल्नुपर्छ भनेर तयार भयौँ । तर, संस्थापन यसमा उदासीन देखिएको छ,’ उनले भने, ‘विशेष महाधिवेशनअघि नवीकरण भएका सदस्यता नवीकरणलाई निरन्तरता दिने र अहिले नवीकरण भइहरेका सदस्यलाई निरन्तरता दिने हो भने राम्रो हुन्छ ।’
उनले कांग्रेसका गाउँगाउँमा रहेका सदस्य प्रविधिमैत्री नभएको, संस्थापनको प्रवृत्तिमा सुधार नभएकाले जटिल भएको बताए । ‘सदस्यता नवीकरणका लागि प्रविधि र संस्थापनको प्रवृत्तिले धोका दियो,’ उनले थपे । कांग्रेसले आगामी वर्ष हुने स्थानीय र प्रदेश निर्वाचनका लागि सदस्यता नवीकरणलाई पनि प्राथमिकतामा राखेको छ ।
पाँच वर्ष अघि नै एमालेमा ११ लाख सदस्य, अबको लक्ष्य १० लाख पुर्याउने
०७८ सालमा एमालेको संगठित सदस्यको संख्या ११ लाख पुगेको थियो । ०८२ पुसमा भएको ११औं महाधिवेशनमा ६ लाख ६२ हजारले मात्र नवीकरण गरे । एमालेले १० लाख संगठित सदस्य संख्या पुर्याउने लक्ष्य लिएको थियो ।
सदस्य संख्या उल्लेख्य रूपमा घटेपछि भदौमा भएको विधान महाधिवेशनले संगठित र साधारण सदस्य गरी दुईथरि सदस्यको व्यस्था गरेको थियो । पार्टी सदस्य घट्दै गएकाले साधारण सदस्य बन्ने ढोका खुला गरेको थियो ।
सदस्यता नवीकरणलाई तीव्रता दिन एमालेले जिल्ला प्रमुख, विभागीय प्रमुख र सचिवहरूलाई राखेर २ दिने कार्यशाला गर्यो । कार्यशालाले संकल्प प्रस्ताव पारित गर्दै १ सदस्य बराबर ३ नयाँ सदस्य बनाउने संकल्प गरेको छ । ‘यो कार्यशाला पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गर्दछ,’ एमालेको निर्णयमा भनिएको छ, ‘पार्टीको १ संगठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ ।’
केन्द्रदेखि जिल्लासम्म एमालेको नेतृत्वमा युवाहरूका लागि नेतृत्वमा आउन सहज छैन । सबै कमिटीमा परम्परावादी नेताको बर्चस्व र उनीहरू वरिपरि घुम्ने व्यक्तिहरूले नै नेतृत्व लिँदै आएका छन् ।
पार्टीका लागि लामो समय मरिमेटेर काम गर्दा पनि मूल्यांकन नहुने भएपछि संगठित सदस्यहरू पलायन भएको केन्द्रीय सदस्य नरेश रोकायाले बताए । ‘हालै भएको केन्द्रीय सदस्यहरूको जिम्मेवारी न्यायिक देखिँदैन । थुप्रै जिल्लामा १० वर्षदेखि जिम्मेवारी पाएकैले अवसर पाएका छन्,’ उनले भने, ‘नयाँलाई जिम्मेवार दिएको छैन । क्षमतावान् व्यक्तिलाई खास जिम्मेवार दिएको छैन । समयसापेक्ष पार्टी जनसंगठनमा काम गर्न सक्नेहरूलाई पाखा लगाइएको छ ।’
पार्टी नेतृत्वको पुरानै प्रवृत्तिले सदस्यहरूमा उत्साह नथपिएको उनको भनाइ छ । ‘सदस्यता नवीकरण गर्न कार्यकर्तामा उत्साह किन हुन सकेन ? भनेर पुरानो नेतृत्वले बुझ्न सकेको देखिएन,’ उनले भने, ‘पार्टी पुनर्गठन हुन्छ र त्यसले गति दिन्छ भन्ने विश्वास कार्यकर्तामा जगाउन सक्नुपर्छ ।’
एमाले संगठन विभाग प्रमुख एवं सचिव भानुभक्त ढकालले नयाँ सदस्य बनाउन प्राथमिकतामा राखेको बताए । ‘पार्टीमा नयाँ सदस्य बनाउने कार्यलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘सदस्य बढाउने लक्ष्य निरन्तर रहन्छ । कहिले घट्ने र बढ्ने भइरहन्छ । तर, अब हामी सदस्यको संख्या पहिलेभन्दा उल्लेख्य रूपमा बढाउने छौँ ।’
एमालेले असार मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने गरी सर्कुलर गर्ने तयारी गरेको छ । एमालेले कार्यशालाबाट विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने, सदस्यता नवीकरणलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिंगो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प पनि गरेको छ ।
पुसको महाधिवेशनले प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्कअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३, जिल्ला कमिटी, महानगर, उपमहमानगर, नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ रहेको उल्लेख थियो । त्यसै गरी वडा कमिटी ७ हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ प्रतिवेदनमा भनिएको छ ।
नेकपाका सदस्य कति छन एकिन छैन
बैशाख २० मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा रौतहट-३ को उम्मेदवार पुनम यादवले पार्टी त्याग गरिन् । नेकपासँग पुरानो साइनो भए पनि पार्टी नेताको कार्यशैलीका कारण पार्टी त्यागेको बताएकी छन् । उनका बुबा सुरेन्द्र यादव गत स्थानीय निर्वाचनमा माओवादीबाट फतुवा विजयपुर नगरपालिका मेयरमा उम्मेदवार भएर पराजित भएका थिए । माओवादी र एकीकृत समाजवादीबीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी सदस्य कति छन् एकिन छैनन् ।
२०८० साउनमा भएको केन्द्रीय समिति बैठकमा तत्कालीन मओवादी अध्यक्ष पुष्पकमल दाहालले ७ लाख ५२ हजार केन्द्रीय सदस्य भएको प्रतिवेदनमा उल्लेख गरेका थिए । ०८१ असारमा एकीकृत समाजवादीको महाधिवेशनमा १ लाख ४० सदस्य सदस्यले नवीकरण गरेका थिए ।
नेकपाले फागुनमा भएको निर्वाचनमा पार्टी नीति विपरीत काम गरेको भन्दै उपमहासचिव हरिबोल गजुरेल, पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, केन्द्रीय सदस्य महेश्वर गहतराज, टेकबहादुर शाक्य, धिरज पट्टेललगायत एक दर्जन नेतालाई कारबाही गरेको थियो ।
तर, कात्तिकमा माओवादी र एकीकृत समाजवादीबीच एकता भए पनि अझै पनि केन्द्रदेखि स्थानीय तहसम्म समायोजन भएको छैन । पार्टी एकतापछि करिब २ हजार ५०० केन्द्रीय समिति बनाएको छ । तर, संगठन गतिशील हुन नसकेको नेताहरूको बुझाइ छ ।
‘हामी संगठन समायोजन र सदस्यता नवीकरण सँगसँगै लिएका अघि बढाइएका छौं,’ प्रवक्ता प्रकाश ज्वालाले भने, ‘सबै समितिहरू समायोजन भएपछि संगठित सदस्यहरूको विवरण एकीन गर्छौ । सदस्यता नवीकरण भने जारी रहनेछ ।’
माओवादी र एकीकृत समाजवादीबीच एकता भए पनि निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेन । नेकपाले प्रत्यक्षमा १७ सिट मात्र ल्यायो । नेकपा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बदलिएको नेतृत्व र स्पष्ट कार्यदिशा नभएसम्म पार्टीमा नयाँ सदस्य जोडिन गाह्रो हुने बताए । ‘पार्टीमा पुरानै अनुहार र अमूर्त कार्यदिशाले नयाँ सदस्य बढ्ने मुस्किल छ,’ उनले भने, ‘पार्टीभित्र संस्थागत लोकतान्त्रिक प्रणाली र निर्णय प्रणाली, प्रक्रिया आमरुपमा परिवर्तन गर्न सक्नुपर्छ ।’
पूर्वमाओवादी सचिव गणेश साहले नेकपाको शिरदेखि तलसम्मको नेतृत्व उस्तै अनुहार, उस्तै परम्परागत कार्यशैलीका कारण कार्यकर्ता निरास भएको बताए । ‘नेपालका कम्युनिस्ट पार्टीमा माथिदेखि तलसम्म हेर्यो भने के नयाँ पाउनुहुन्छ ? नेतृत्व, विचार वा अन्य केही ?,’ उनले भने, ‘पार्टी जीवन्त हुन कार्यकर्ता उत्साही हुनुपर्छ । सामान्य मतदाता निर्वाचनका बेला मत प्रयोग गर्ने हुन् । तर, कार्यकर्ता सक्रिय भएनन् भने पार्टी कमजोर हुँदै जान्छ । अहिले नेपालका कम्युनिस्ट पार्टीमा भएको यही हो ।’
'दल आफै नवीकरण नहुँदा कार्यकर्तामा विकर्षण'
राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले नेपालका पुराना राजनीतिक दल आफै नवीकरण नभएको र आम मानिसमा राजनीतिक विचारभन्दा दैनिक जीवनसँग जोडिएका कारण नयाँ सदस्यमा आकर्षण नभएको बताए । ‘मध्यमवर्गको जनसंख्या बढिरहेको समाजमा राजनीतिक सहभागिताप्रति उदासीनता आधारभूत विशेषता हो भन्ने विभिन्न अनुसन्धानमा देखिन्छ,’ उनले भने, ‘नेपालमा मध्यमवर्गको संख्या धेरै नभए पनि डिजिटल शिक्षा र भूमण्डलीकरणको प्रभावले राजनीतिक विचारधारा, दल र राजनीतिक सहभागिताभन्दा व्यावसायिकता, आयआर्जन, गुणस्तरीय जीवन प्राथमिकता परेको छ । त्यसैले पुराना दलहरूका पूर्णकालीन कार्यकर्ताहरूको कम आकर्षण देखिएको छ ।’
पार्टीका पुराना कार्यकर्ताहरू नै सदस्यताप्रति अरुचि हुनुमा मुख्य गरी नेतृत्वको स्वार्थ केन्द्रित कार्यशैली जिम्मेवार हुनसक्ने बताए । ‘राजनीतिक दलहरू राज्य सत्ता र संयन्त्रमा लामो समयसम्म बसे । उनीहरूको कार्यसम्पादनले राजनीतिक जीवनमा उल्लेख्य राम्रो प्रभाव नपारेका कारण सदस्य हुन कम आकर्षण हुन सक्छ,’ उनले थपे, ‘हालसम्म नेताहरूका वरिपरिका व्यक्तिको जीवनमा आएको परिवर्तन सामान्य कार्यकर्ताले देखेका छन् । त्यसैले पनि लामो समय खटेका उत्साह र प्रतिबद्धतामा नआएको हुन सक्छ ।’ उनले राजनीतिक शक्ति रास्वपाको उदयले पनि पुराना दलका संगठित सदस्यलाई प्रभावित गरेको बताए ।
जसपा सदस्यता नवीकरण सुस्त
उपेन्द्र यादवले जनता समाजवादी पार्टीको सदस्यता नवीकरण अभियान सुरु गरे पनि निकै सुस्त छ । ०८१ जेठमा भएको महाधिवेशनका बेला जसपाका १ लाख ४५ हजार सदस्य थिए । ‘सदस्यता नवीकरण अभियान चलिरहेको छ । तर, अहिले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा महाधिवेशन नभएकाले सुस्त छ,’ उनले भने, ‘लोकतान्त्रिक समाजवादीसँग एकता भएकाले अब तीव्रता दिने तयारीमा छौँ ।’
पुराना पार्टीहरूमा पुराना सदस्य सक्रिय नहुनु र नयाँ सदस्य नथपिनुमा नेतृत्व परिवर्तनको बहस लामो समयदेखि चले पनि नयाँ पुस्तालाई पर्याप्त अवसर नदिएको र निर्णय प्रक्रिया सीमित नेताहरूमा केन्द्रित भएको गुनासो कार्यकर्ताको छ ।
पार्टीभित्र अवसर, टिकट र जिम्मेवारी वितरणमा गुटको प्रभाव बढी भएकाले आकर्षण घटेको देखिन्छ । मिहिनेतभन्दा नेतासँगको निकटताका कारण सदस्यता नवीकरणप्रतिको आकर्षण कम छ ।
यसका साथै जेन-जी आन्दोलनपछि नयाँ शक्तिहरूको उदयले परम्परागत दलका समर्थकहरूलाई पनि प्रभावित गरेको छ । विशेष गरी युवा पुस्तामा पुराना दलप्रति निराशा र नयाँ विकल्पप्रति आकर्षण देखिएको विश्लेषकको भनाइ छ ।
