सभापति पदका लागि तीन जना प्रतिस्पर्धामा थिए।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सभापतिमा इन्जिनियर मिनीमाधव खनाललाई निर्वाचित गरेको छ।
सभापति पदका लागि तीन जना प्रतिस्पर्धामा थिए। इन्जिनियर खनाल २२२ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी कृष्णप्रसाद भुषालले १११ मत प्राप्त गरे। भुषाल वर्तमान तदर्थ कार्यसमितिका सभापति हुन्।
सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाश आचार्यले २२ मत प्राप्त गरे। कार्यसमितिको उपसभापतिमा निर्मला गिरी र सचिवमा तेजेन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन्।
चितवन–१ का सांसद हरि ढकालले उद्घाटन गरेको अधिवेशनमा कार्यसमिति निर्माणका लागि मतदान भएको हो। जिल्ला अधिवेशनमा प्रतिनिधि संख्या ४०९ रहेकोमा ३६४ जना मतदानमा सहभागी भएका थिए।
