संसद्मा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने बताएका हुन्।
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल–भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसद्मा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसद्मा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने बताएका हुन्।
‘सभापतिजीले दुई वटा कुरा गर्नुभयो। पहिलो कुरा, हामी दलमा पनि छलफल गर्छौं,’ बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने, ‘दोस्रो कुरा, सदनमा परराष्ट्रमन्त्रीजीले जवाफ दिनुहुन्छ। परराष्ट्रमन्त्रीले जवाफ दिएपछि आवश्यकता पर्यो भने मैले पनि जवाफ दिन्छु। तर अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न।’
तर, विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका थिए। ‘यो असाध्यै सिरियस विषय भएको हुनाले प्रधानमन्त्रीले संसद्मा आएर नै जवाफ दिनुपर्छ र यसमा स्पष्ट पार्नुपर्छ,’ महरले भने, ‘यदि उहाँको त्यस्तो कुनै नियत होइन भने पनि एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अर्को देशको भूमि मिचेको छ भनेर संसद्को रोस्ट्रमबाट भन्नु असाध्यै राष्ट्रसँग जोडिएको, देशसँग जोडिएको विषय हो। त्यसैले यो त्यति राम्रो हुँदैन। उहाँको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ।’
