डिजिटल प्रणालीमार्फत अद्यावधिक भएका सदस्यलाई विशिष्ट पहिचान नम्बरसहितको कांग्रेस आईडी प्रदान
काठमाडौं — कांग्रेसले सोमबारसम्म ४ लाख १७ हजारको क्रियाशील सदस्यता अद्यावधिक भएको जनाएको छ । क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाका लागि योग्य ७ लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये ४ लाख १७ हजार ७५३ जनाले अद्यावधिक गरेका कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै थप ९८ हजार १४३ जनाले स्वयं फारम भरेर प्रक्रिया अघि बढाएको उल्लेख छ । फारम भरेका समेत गर्दा ५ लाख १५ हजारभन्दा बढी सदस्य अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको उल्लेख छ ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले २८ जेठसम्मको अवधिलाई अन्तिम समयसीमा तोकेको छ । डिजिटल प्रणालीमार्फत अद्यावधिक भएका सदस्यलाई विशिष्ट पहिचान नम्बरसहितको कांग्रेस आईडी प्रदान गरिने व्यवस्था गरिएको छ, जसलाई आगामी महाधिवेशनमा सहभागी हुने आधारका रूपमा प्रयोग गरिनेछ ।
बैठकले अनुशासन समितिको कारबाहीमा परेका, अन्य दलमा प्रवेश गरेका वा बागी उम्मेदवारी दिएका व्यक्तिहरूको सदस्यता प्रमाणका आधारमा केन्द्रीय अभिलेखबाट हटाइने निर्णय पनि गरेको छ ।
अनधिकृत रूपमा सदस्यता अद्यावधिक भएको पाइएमा छानबिनपछि त्यस्तो सदस्यता खारेज गरिने व्यवस्था पनि स्पष्ट गरिएको छ । पार्टीका सबै तहका नेता तथा जनप्रतिनिधिहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्न बैठकले आग्रह गरेको छ ।
