पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीनजना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
What you should know
संखुवासभा — कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीनजना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको समितिको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टी उम्मेदवारविरुद्धअन्तर्घात गरेको आरोपमा उनीहरूमा कारबाही प्रक्रिया अघि बढाएको हो ।
समितिले खड्कासँगै जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध संगठित रूपमा अन्तर्घात गरेको, कार्यकर्तालाई भ्रमित बनाएको तथा विपक्षी दलका उम्मेदवारलाई सहयोग पुर्याएको आरोप उल्लेख गरिएको छ।
समितिका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा संखुवासभामा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठविरुद्ध योजनाबद्ध रूपमा गतिविधि भएको उजुरी परेपछि छानबिन प्रक्रिया सुरु गरिएको थियो ।
स्पष्टीकरण पत्रमा नेता खड्काले फागुन १२ गते धर्मदेवी नगरपालिकाको मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा पार्टी नेतृत्व र नीतिविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाइएको छ । उनले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई स्वीकार नगर्ने र कांग्रेसले निर्वाचन जित्न नसक्ने भन्दै कार्यकर्तालाई स्वतन्त्र रूपमा निर्णय गर्न उक्साएको दाबी गरिएको छ।
त्यसैगरी, जिल्ला सचिव अधिकारी र महाधिवेशन प्रतिनिधि लिंखामाथि खड्काकै निर्देशनमा संगठनविरोधी गतिविधिमा संलग्न भएको आरोप छ । उनीहरूले कार्यकर्तालाई चुनावी कार्यक्रममा सहभागी नहुन दबाब दिएको, बाहिरबाट कांग्रेसको पक्षमा देखिए पनि भित्री रूपमा विपक्षी उम्मेदवारलाई सहयोग गरेको उजुरीमा उल्लेख गरिएको छ।
अनुशासन समितिले यस्ता गतिविधि कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघन हुने ठहर गरेको छ। समितिले सम्बन्धित नेताहरूलाई 'किन कारबाही नगर्ने ?' भन्ने प्रश्नसहित अन्तिम अवसरका रूपमा स्पष्टीकरण मागेको हो ।
निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत समितिले दिएको छ।
