रास्वपाले १० वैशाखमा सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा र क्यान्डिडेट छनोट क्लब सम्पादन समिति गठन गरी गृहकार्य सुरु गरेको छ ।
What you should know
काठमाडौँ — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिअनुसार उम्मेदवार छनोट र स्थानीय वाचा तयार गर्न गृहकार्य थालेको छ । स्थानीय तहको निर्वाचन ०८४ वैशाख अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेश निर्वाचन हुनेछ । ०७९ को निर्वाचनमा रास्वपाले प्रदेश र स्थानीय तहमा भाग नलिएकाले त्यहाँ जनप्रनिनिधि छैनन् ।
प्रदेश र स्थानीय तहमा रास्वपाका जनप्रतिनिधि नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीबाट सदस्य छैनन् । राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था छ । रास्वपाले १० वैशाखमा सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा र क्यान्डिडेट छनोट क्लब सम्पादन समिति गठन गरी गृहकार्य सुरु गरेको छ । पछिल्लो स्थानीय तहमा उम्मेदवार हुने आकांक्षीको संख्या ठूलो भएकाले विधि र प्रक्रियाबाट उम्मेदवार बनाइने प्रवक्ता मनीष झाले बताए ।
७, ८ र ९ असारमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि वडा तहसम्म अधिवेशनमा केन्द्रित भएकाले त्यसमै लागिपरेको उल्लेख गर्दै झाले महाधिवेशन सकिनेबित्तिकै देशव्यापी रूपमा स्थानीय निर्वाचनको तयारीमा लाग्ने बताए । ‘महाधिवेशन सकिनेबित्तिकै हामी देशव्यापी रूपमा स्थानीय निर्वाचनको तयारीमा लाग्छौं’ उनले भने, ‘उम्मेदवार हुने आकांक्षीको संख्या ठूलो भएकाले छनोट गर्न चुनौती छ । तर विधि र प्रक्रिया बनाएर सबै पालिका र वडामा उम्मेदवार छान्छौं ।’
पछिल्लो प्रतिनिधिसभाको निर्वाचन परिणामको प्रभावका कारण अन्य दलका नेता/कार्यकर्ता रास्वपामा प्रवेश गरी स्थानीय र प्रदेशमा उम्मेदवार हुन खोज्ने प्रवृत्ति देखिएको छ । ‘चुनावमा उम्मेदवार बनाउन हाम्रै सदस्य व्यवस्थापन गर्नुपर्नेछ’ प्रवक्ता झाले भने, ‘उम्मेदवारका लागि अरू दलबाट भित्र्याउनुपर्ने अवस्था छैन ।’ रास्वपाले सबै क्लस्टरबाट युवालाई उम्मेदवार बनाउने नीति लिएको छ । ७५३ पालिकामा युवा उम्मेदवारका रूपमा छनोट गर्ने तयारी रास्वपाको छ । फागुनको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १६४ निर्वाचन क्षेत्रमा ४० वर्षमुनिका ४० प्रतिशत युवा उम्मेदवार बनाएको थियो ।
आगामी निर्वाचनका लागि पुराना दलहरू संगठन पुनर्गठनको तयारीमा जुटेका छन् । गगन थापा नेतृत्वको कांग्रेसले फागुनको प्रतिनिधिसभा निर्वाचनमा पनि युवा र नयाँलाई उम्मेदवार छनोटमा प्राथमिकतामा राखेको थियो । उक्त निर्वाचनमा कांग्रेसले ६४ प्रतिशत युवा र नयाँ उम्मेदवार उठाएको थियो । आगामी स्थानीय र प्रदेशको निर्वाचनमा त्यही ‘स्पिरिट’ लाई निरन्तरता दिने तयारी गरेको छ । प्रदेश र स्थानीयमा युवा र नयाँलाई प्राथमिकता दिने गरी कांग्रेसले अभियान चलाएको छ ।
कांग्रेसको सदस्यता नवीकरणसँगै सुरु भएको अभियान सातै प्रदेशमा सकिएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका जनप्रतिधिसँग आगामी निर्वाचनसम्बन्धी अन्तर्क्रिया गरी सुझाव लिएको छ । कांग्रेस सभापति थापाले प्रदेश र स्थानीय तहका जनप्रनिधिलाई आम मानिसका सरोकारसँगै जोडिएर काम गर्न निर्देशन दिएका छन् ।
‘प्रदेश र स्थानीय सरकारले आम मानिसलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेछ’ कांग्रेस महामन्त्री गुरुराज घिमिरेले भने, ‘प्रदेश र स्थानीय निर्वाचित लक्षित गरेर सातै प्रदेशका सांसद र स्थानीय जनप्रतिनिधिहरूसँग राम्रो अन्तर्क्रिया भएको छ । प्रदेश र स्थानीय तहमा राम्रो काम गरेर मात्र प्रभाव पार्न सकिन्छ भन्ने भएको छ ।’
प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरु बराललगायत नेताहरूले आगामी निर्वाचनका कांग्रेसको परीक्षा हुने भन्दै बदलिएको कांग्रेसले मुलुकलाई बदल्न चाहेको विश्वास दिने गरी काम गर्न निर्देशन दिएका थिए । कांग्रेस ०७९ को निर्वाचनमा ३२९ पालिकामा जितेर पहिलो भएको थियो । आगामी निर्वाचनका कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने नीति लिएको छ । विशेष महाधिवेशनले निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने नीति पारित गरेको थियो । ०७९ को स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेस माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।
एमालेको दुई साताअघि बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय निर्वाचन केन्द्रित गरी निर्देशन दिएको छ । डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढाएको एमालेले ७५३ वटै पालिकामा केन्द्रीय सदस्यलाई ‘मिसन पार्टी जागरण’ कार्यविभाजन गरेको छ । ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ । निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ’ एमालेले तल्लो कमिटीमा पठाएको अन्तरपार्टी निर्देशिकामा भनिएको छ, ‘यस प्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको सञ्चार जागृत गर्नु आवश्यक छ । पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइनेछ ।’
एमाले संगठन विभाग प्रमुख एवं सचिव भानुभक्त ढकालले सांगठनिक सुदृढीकरण र गतिशीलता दिने भन्दै काठमाडौंमा कार्यशाला गरेको बताए । ‘यसले पार्टी संगठनलाई थप गति दिनेछ भने आगामी निर्वाचनका लागि राम्रो गर्ने विश्वास छ’ उनले भने । कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूलाई बोलाइएको छ । सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजना बनाउने ढकालले बताए । ०७९ को निर्वाचनमा एमाले २०६ पालिका जितेर दोस्रो भएको थियो ।
माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले १३ र १४ जेठमा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । नेकपाले जितेका स्थानीय सरकार राम्रो काम गरे मात्र आगामी निर्वाचनमा मतदाताको मन जित्न सकिने भन्दै आखिर वर्षका कार्यक्रम बनाउँदा ध्यान दिन निर्देशन दिएको हो ।
पहिलो पटक प्रतिनिधिसभामा रहेको श्रम संस्कृति पार्टीले सकेसम्म धेरै पालिकामा उम्मेदवार दिने तयारी गरेको छ । पूर्वबाट उदाएको श्रम संस्कृतिले श्रमसँग जोडिएको काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने पार्टीका नेता/सांसद आरेन राईले बताए । ‘हामी त स्थानीय र प्रदेश चुनावको तयारीमा लागिसक्यौं’ उनले भने, ‘अनिवार्य श्रम गर्ने, इमान्दार र राम्रो छवि भएको व्यक्तिलाई उम्मेदवार बनाउँछौं ।’
अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत स्थानीय तहका उम्मेदवारको नाम पठाउन आग्रह गरेका छन् । ‘पालिकाले उम्मेदवारहरूको नाम जस्ताको तस्तै पठाउनुहोला । चुनाव गर्ने कुरा नगर्नु है,’ उनले भनेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच द्वन्द्वका कारण आन्तरिक कलहमा फसेको छ । राणाले पार्टी त्याग र नयाँ पार्टी गठनको घोषणा गरेका छन् । सोही कारण आगामी निर्वाचनबारे तयारी थालिनसकेको राप्रपाका नेताहरूको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचनमा एक सिट जित्न नसके पनि जसपा नेपालले मधेशकेन्द्रित पुनर्जागरण अभियान थालेको छ । जसपा र लोसपा (लोकतान्त्रिक समाजवादी) बीच एकता भएपछि गत स्थानीय निर्वाचनमा ४६ पालिका जितेका थिए । जसपा नेता प्रकाश अधिकारीले लोसपासँग एकतापछि संगठन विस्तारको काममा लागेको बताए । जनमतले संगठन विस्तार जारी राखेको महासचिव चन्दन सिंहले बताए । फागुनको प्रतिधिनिधिसभा निर्वाचनको समीक्षा गरी २४ जेठमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रदेश र स्थानीय तह निर्वाचनको कार्यक्रम बनाउने बताए । जनमतले ०७९ को निर्वाचनमा दुई पालिका जितेको थियो ।
